उच्च शिक्षाका लागि विद्यालय छनोटका आधार

उच्च शिक्षाका लागि विद्यालय छनोटका आधार

राष्ट्रिय परीक्षा बोर्डले भर्खरै माध्यामिक शिक्षा परीक्षा ‘एसईई’ कक्षा १० को नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशनसँगै अहिले ४ लाख २५ हजार विद्यार्थीले उच्च तहमा अध्ययनका सर्टिफिकेट हातमा लिएर विद्यालयको खोजीमा छन् । के शहर–के गाउँ सबैतिर विद्यार्थीलाई कहाँ पढ्ने ? के विषय रोज्ने ? चिन्ताले सताएको छ । अभिभावक पनि उपयुक्त शैक्षिक गन्तव्य छान्ने चौतर्फी पिरलोमा छन् यतिबेला । 

बोर्डको अक्षरांकन प्रणाली बमोजिम कम्तिमा १.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीले माथिल्लो तह अध्ययन गर्न पाउँछन् । यस वर्ष ४ लाख २५ हजार विद्यार्थीले उक्त जीपीए प्राप्त गरेका छन् । यो कूल सङ्ख्याको ८८ प्रतिशत हो । विगतमा प्रतिशत परीक्षा प्रणालीमा ठूलो सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने भएपनि अक्षरांकनमा त्यो समस्या केही घटेको छ । तर, शैक्षिक स्तरमा भने सुधार नआएको विज्ञहरूको टिप्पणी छ । 

अर्कोतिर अभिभावकले राम्रो विषय छान्नुपर्छ भन्ने दबाव झेल्दै छन् विद्यार्थी ।  कलेज–कलेज पुग्नु ब्रोसर बोक्नु उनीहरूको दिनचर्या बनेको छ । निजी कलेज सञ्चालकहरू मिडियामा ठूलठूला विज्ञापन गरेर विद्यार्थी तान्ने होडबाजीमा छन् । काउन्सिलिङका नाममा विद्यार्थीलाई चाहिने/नचाहिने प्रवचन सुनाउने गरिएको छ । निजी कलेजहरू काठमाडौं लगायत शहरी क्षेत्रमा एसईई परीक्षाका बेला नै परिक्षार्थीलाई आफ्ना ब्रोसर भिडाएर विज्ञापन गरेको प्रतिफल खोज्न तल्लीन छन् । उनीहरूका दृष्टिमा यो ठिकै पनि होला ।

तर, मुलुकको वर्तमान शिक्षा नीतिबाट उत्पादित जनशक्तिबाट समाजले कस्तो गन्तव्य पाउला ? यो अहम् प्रश्न हो । सरकारले प्रारम्भिक जनशक्तिका रूपमा समेत कक्षा १२ सम्मको शिक्षालाई लिएको अवस्था छ । एउटा विद्यार्थी जो आफ्नो भविष्य कोर्न एसईईको प्रमाणपत्र हातमा लिएर उभिएको छ । उसका अगाडि थुप्रै चुनौती र सम्भावना छन् । कलिलो मस्तिष्क त्यो चिन्न सक्ने अवस्थामा देखिन्न ।

विद्यालयल सञ्चालक बढीभन्दा बढी विद्यार्थी तान्ने र उत्कृष्ट ग्रेडिङका विद्यार्थीलाई फकाउने अनि ‘इन्ट्रान्स’ को आतंक देखाएर गुणस्तरीय शिक्षाको धाक दिइरहेका छन् । सरकारी विद्यालयहरू भने लयमा छैनन् । ‘आए आप गए झटारो’ को स्थितिबाट गुज्रिँदा छन् । २ वर्षअघि स्थानीय सरकारको जिम्मेवारीमा परेको कक्षा ११ र १२ को शिक्षा यता न उता ‘भीरको चिण्डो’ भएको छ ।

यसै सन्दर्भमा  अमरवाणी अनलाइनले कक्षा ११ मा के पढ्ने ? टिनेजर्स विद्यार्थीले कलेज छान्दा के–केमा ध्यान दिने ? कस्ता विषय पढ्दा करियर राम्रो बन्छ ? समाजमा अब्बल बन्न कुन मार्ग समात्ने र गुणस्तरीय शिक्षा के हो ? भन्ने विषयमा केन्द्रित भएर बुधबार लामो अवधि शिक्षण पेशामा तल्लीन व्यक्तित्व, प्राचार्य र कलेज सञ्चालकहरूसँग राउण्ड टेबल छलफल गरेको थियो । प्रस्तुत छलफलमा सहभागीहरूको धारणाः

विज्ञापनको ठूलो रकम जायज छैन

केशव प्रसाद दंगाल, कार्यकारी अध्यक्ष, सेन्ट लरेन्स कलेज, चावहिल

शैक्षिक क्षेत्रमा समानान्तर संस्थाहरुबीच स्वस्थ्य प्रतिस्पर्धा हुनु आवश्यक छ । काठमाडौँको पूर्वी भेगमा अवस्थित शैक्षिक संस्थाले आफ्नो भौतिक पूर्वाधारको विकासमा पर्याप्त लगानी गरेका छन् । यो नै शिक्षा क्षेत्रको राम्रो पक्ष हो । जहाँसम्म गुणस्तरीय शिक्षाको सवाल छ, यस भेगका शैक्षिक संस्थाहरुले अन्य नकारात्मक विषयमा भन्दा सकारात्मक भई आफ्ना कार्यक्रमहरुलाई विद्यार्थीमुखी बनाउनु आवश्यक छ । प्रमुख विषय नै विद्यार्थीप्रतिको जिम्मेवारी हो ।

विद्यार्थीलाई राम्ररी पढाउने सवालमा रहेको प्रतिस्पर्धालाई राम्रो मान्न सकिन्छ । राजधानीका केही कलेज र विद्यालयहरुले विद्यार्थी भर्नाका लागि खुलेरै विज्ञापन गरेको पाइन्छ ।

मेरो विचारमा हाम्रा शैक्षिक संस्थाले विज्ञापनमा ठूलो रकम खर्च गर्नु राम्रो होइन । विज्ञापनमा खर्च गर्ने रकम गरिव तथा जेहेन्दार विद्यार्थीहरुको छात्रबृत्तिमा लगाएको खण्डमा धेरै विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन् । यो हामीजस्ता संस्थाहरुको राष्ट्रिय दायित्व पनि हो । विज्ञापनमा केही अपवाद भने हुन्छन्, जस्तो कि आफ्ना उत्पादन तथा सेवाको जानकारी विद्यार्थीलाई र अविभावकलाई दिने खालका विज्ञापन लाई भने ठीकै मान्न सकिन्छ ।

सेन्ट लरेन्स कलेज २२ वर्षदेखि शैक्षिक यात्रामा छ । रिङ रोडबाट नजिक चावहिल केन्द्रमा रहेको कलेज विद्यार्थीलाई सहि बाटोमा डोर्याउन तल्लीन छ । विद्यार्थी भर्नाका लागि अभिभावक विश्वास, विद्यार्थीको रुचिका विषयहरु, शैक्षिक संस्थाको ख्याति र हैसियतलाई ध्यान दिनु आवश्यक छ । हामीले विद्यार्थीहरुका लागि प्रयोगात्मक शिक्षा दिने शैक्षिक संस्था रोज्नु पर्छ ।

विद्यार्थी किनबेच रोकिनुपर्छ

चन्द्रप्रसाद पन्त,  सहायक क्याम्पस प्रमुख पशुपति बहुमुखी क्याम्पस,मित्रपार्क,चावहिल

मुलुकमा दुई खाले शिक्षा प्रणाली विद्यमान छ । सामुदायिक विद्यालय र निजी । अहिले कक्षा १२ सम्मको शिक्षा विद्यालय तहमा गइसकेको छ । यस सन्दर्भमा कस्ता विद्यालय राम्रा त ? यो अहम् प्रश्न हो । सरकारले विद्यालय खोल्ने अनुमति प्रदान गरेको छ । तर,कुन विद्यालय कुन स्तरको हो त्यसको मापन भने गरेको देखिदैन । विद्यार्थीको क्षमता/ल्याकत वास्तवमा विद्यालयले नै बुझ्नुपर्ने हो । तर,हामी कहाँ त्यस्तो भएको देखिदैँन । नेपाली विषयमा ९० नम्बर ल्याउने विद्यार्थीलाई विद्यालयले सर्टिफिकेटमै तिमी साहित्य विद्याका लागि ठिक छौ भनेर उसको क्षमता पहिचान गरिदिनुपर्छ ।

कक्षा ११ पढनका लागि विद्यालय फेर्ने होइन । विद्यार्थीले छानेको विषय नभएमा मात्र अर्कोमा जाने हो । तर,यहाँ त विद्यार्थी ‘किनबेच’ भइरहेका छन् । जिपीए, खेलकूद र छात्रवृत्तिका नाममा कमिसन दिएर विद्यार्थी भर्ना गराउने परिपाटी छ निजी कलेजमा । यो रोकिनुपर्छ ।   प्राइभेट कलेजहरूले शिक्षामा जति नै गुणस्तर प्रदान गरेको फूर्ति लगाएपनि तिनका उत्पादन नेपालका लागि भन्दापनि विदेशका लागि तयार पारिएका छन् । यो स्वीकार्नै पर्ने हुन्छ । विदेशका लागि तयार पारिने जनशक्तिले नेपाललाई के दिन्छ ? यो मननीय प्रश्न छ ।

अर्को विद्यार्थी तान्न ठूलाठूला होर्डिङ बोर्ड विज्ञापन गर्ने अनि बालबालिकालाई संस्कार सिकाउन नसक्ने ? ठूलो सङ्ख्यामा टिन एजर्स विद्यार्थी कूलतको सिकार भएका छन् त्यसमा हाम्रा शिक्षण संस्था जिम्मेवार बन्ने कि नबन्ने ? हो अहिले धेरै विद्यार्थी कलेज खोजीमा भौतारिएका छन् । उनीहरू विज्ञापनमा निर्भर हुने कि साथीभाइको लहलहैमा लाग्ने कि अभिभावकको चाहना बमोजिमको कलेज खोज्ने त्रिपक्षीय दबावमा देखिन्छन् ।

सबैले साइन्स नै पढनुपर्छ, व्यवस्थापन नै पढनुपर्छ भन्ने छैन् । विद्यार्थीले रुचिको विषय पढने हो । त्यो वातावरण अभिभाव, राज्यको शिक्षा नीति र शिक्षण संस्थाहरूले बनाइदिने हो ।  अर्को शिक्षामा राज्यले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो त्यो मापन भएको देखिन्न ।  चिकित्सा र इन्जिनीयरिङतर्फ त्यस्तो छैन,त्यसकारण विदेशबाट समेत यहाँ पढन आउछन् ।

अहिलेको शिक्षा प्रणालीलाई कम्युनिष्टले बुजुर्वा शिक्षा भन्छन् । सरकारको नेतृत्व उनीहरूले नै गरेका छन् । तर, शिक्षा प्रणालीमा रत्तिभर पनि परिवर्तन गरेका छैनन् । झन निजीकरणलाई प्रोत्साहन गरिराखेको अवस्था छ । यो नीति त्यो अवोध भर्खर कलेज पाइला टेक्दै गरेका विद्यार्थीलाई के थाहा ? विद्यार्थीको मापन गर्ने परीक्षा प्रणाली देख्दा दिग्दार लाग्छ । लामो समयदेखि म उच्च शिक्षाका परीक्षाहरू निकट रहेर नियाल्दै आएको छु । परीक्षा केन्द्रदेखि उत्तरपुस्तिका जाँच्ने बेलासम्म सेटिङ छ । सबैलाई भन्दिन् तर यसमा पनि निजी कलेज सञ्चालक नै अगाडि छन् । यस्ता कार्यले विद्यार्थीको सिकाइको स्तर निकै खस्केको छ । यो चिन्ताको विषय हो ।

नैतिक र व्यवहारजन्य शिक्षा प्रदानमा गर्न नसकिएको अर्को सत्य हो । त्यसका पनि थुप्रै कारण छन् । इन्टरनेट प्रविधिले विश्वलाई औलामा कैद गरेको छ, त्यसको प्रभाव आमसर्वसाधारणम त परेको छ भने कलेज पढ्ने विद्यार्थीमा नपर्ने कुरै भएन । प्रविधिको राम्रो पक्ष प्रयोग गर्न विद्यार्थीलाई प्रेरित गर्ने हो । यो नियन्त्रण गरेर साध्य चल्दैन । नियन्त्रण गर्ने अधिकार कलेजसँग हुन पनि हुँदैन् ।

‘ब्लाइन्ड’ सुझावका आधारमा कलेज छान्दा धोका

घनश्याम राज काफ्ले  प्राचार्य, पशुपति मित्र मावि, चावहिल

कक्षा ११ कहाँ पढ्ने ? के विषय रोज्ने विषयमा विद्यार्थी अन्यौलमा छन् । अभिभावकको दवाव पनि थोपारिएको छ । यति जीपीए ल्याएपछि यो विषय पढनुपर्छ भन्ने ‘ब्लाइन्ड’ सुझावको सिकार बनेका छन् बालबालिका । दवावमा विषय छान्नु राम्रो होइन, पहिला विद्यार्थीले आफ्नो रूचि के विषयमा छ त्यसमा ध्यानदिनु पर्छ । विद्यार्थीमा परामर्शको कमी छ । भर्खर एसईई उत्तीर्ण विद्यार्थीले छिट्टै निर्णय दिने क्षमता राख्दैनन् ।

साथीभाइको लहलहीमा लाग्नु राम्रो होइन । यसले राम्रो परिणाम दिदैँन । कलेजको भवन मात्र नहेरी पहिला आफ्नो आर्थिक हैसियतलाई पनि ध्यान दिनु आवश्यक छ । अर्को विद्यार्थीले आफ्नो जीवनको लक्ष्य के हो रु त्यो निर्धारण गरेर विषय छान्दा भविष्य राम्रो हुन्छ । सरकारी शिक्षण संस्थामाथि थुप्रै प्रश्न तेर्सिएको अवस्था छ । र, सरकारीमा विद्यालयमा पढने बालबालिका ‘अनक्लेम्ड चाइल्ड’ बनेको अवस्था छ ।

यो दुखद पक्ष हो । अहिले निजी विद्यालयका सञ्चालकले गर्व गर्नुपर्ने र सामुदायिक विद्यालयले बोध गर्नुपर्ने अवस्था छ । यसपटकबाट पशुपति मित्र माविले पनि कक्षा ११ मा मानविकी, व्यवस्थापन र शिक्षा संकायमा सञ्चालनमा ल्याएको छ ।  

चौतर्फी ज्ञान दिने शिक्षणसंस्था छान्दा राम्रो

श्याम सुन्दर श्रेष्ठ (प्रिन्सिपल) टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्क, चावहिल 

गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । अझ २१ औं शताब्दीमा मान्छे अगाडी बढ्न ‘स्मार्ट’ शिक्षा चाहिन्छ । यो भन्नुको अर्थ व्यक्ति सफल बन्न चौतर्फी ज्ञान आवश्यक पर्छ । शिक्षालाई प्राथमिकतामा राखेर विश्व सन्दर्भ अनुसार आफ्ना कुराहरू राख्न सक्ने जनशक्ति उत्पादन गर्नु नै अहिलेको आवश्यकता हो । शिक्षाले मानवको सर्वाङ्गीण विकास गर्नु सक्नुपर्छ ।

कक्षा ११ मा पाइले टेक्दै गरेका विद्यार्थीहरूको गन्त्व्य यिनै विशेषता बोकेका शिक्षण संस्थामा हुनुपर्छ । विद्यार्थीको सर्वाङगीण विकासको लागि पढाईसँगै अतिरिक्त क्रियाकलाप जरुरी हुन्छ । यसलाई ‘को–करिक्यूलर’ गतिविधि पनि भनिन्छ । अर्को तिर हाम्रो आवश्यकता व्यावसायिक शिक्षा पनि हो । तसर्थ अविभावकले कलेज छनोट गर्दा कलेजको रिजल्ट,फ्याकल्टी मेम्बर र त्यहाँ उत्पादित जनशक्तिको उपादेयता आदि हेर्नुपर्छ । टेक्ससले मन्टेश्वरी स्कुलदेखि मास्टर डिग्रीसम्म शिक्षा कोर्षहरु सञ्चालन गरिरहेका छ ।

कक्षा ११ देखि मास्टर्ससम्म हामीले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय अन्तर्गत विभिन्न विषयहरु अध्यापन गर्दै आएका छौ । । त्यतिमात्र होइन कलेजले विश्व परिवेशलाई सुहाँउने वीआइएम, वीसीए, वीवीए र विएस्सी सिएस आइटी जस्ता विषय पठनपाठन गराउँदै आएको छ । यसपाली देखि हामी वीएचएम कोर्ष सञ्चालन गर्न लिङ्कन विश्वविद्यालयसँग लिंक गरेर टेक्सस कलेज अफ आइटी सञ्चालन गरिरहेका छौं  ।   

 आफूलाई उपयुक्त हुने विषय छान्नुहोस्

मोतीराम फुयाल,प्रिन्सिपल, सेन्टिनियल हायर सेकेण्डरी स्कूल तथा कुटुम्ब कलेज, जोरपाटी

विद्यार्थी कलेज छनोटका विषयमा अन्यौलमा देखिन्छन् । किनकी हाम्रो काउन्सिलिङ गतिलो छैन । कस्तो कलेज पढ्ने ? कुन विषय रोज्ने भन्ने कुरा विद्यार्थीको अधिकार र इच्छा चाहानामा निर्भर गर्छ । मेरो सल्लाह विद्यार्थी भाइबहिनीलाई के छ भने विद्यार्थीले पहिला आफ्नो नेचर, आफूलाई उपयूक्त हुने विषय, अवस्था र पायक पर्ने क्षेत्रको कलेज छनोटमा ध्यान दिनु आवश्यक छ ।

त्यतिमात्र होइन पूर्वाधार, कक्षाको वातावरण, रिजल्ट आदि पक्ष पनि मननीय छन् । हाम्रा विद्यालयले पढाउँदा विद्यार्थीको दिमागको ढोका खोलिदिएका छन् कि छैनन् त्यो हेर्नुपर्छ । अन्यथा विद्यार्थीलाई कलेज छनोटमा राज्यको दायित्व पनि प्रमुख हुन सक्छ । हामीले विद्यार्थीलाई शिक्षासँगै संस्कार दिनु आवश्यक छ ।    

 दबावमा कलेज छान्दा धोका हुन्छ

दुर्गानाथ सिवाकोटी प्रिन्सिपल, सर्वनाम शिक्षालय कलेज, जोरपाटी, काठमाडौं

विद्यार्थीलाई स्कुल तहमै ‘काउन्सिलिङ’ गर्नु जरुरी देख्छु म त । ए प्लस ल्यायो भन्दैमा फलानो विषय पढनुपर्छ भनेर हौसला दिनु राम्रो होइन । उसको वास्तविक शैक्षिक धरातल बुझेर मात्र सल्लाह दिनुपर्छ । लहलहीमा विषय छान्दापछि धोका मिल्छ । त्यसैले आफ्ना गच्छले भ्याउने र रुचिको विषय पढ्दा राम्रो । विषय छान्दा बालबालिकालाई दवाव दिनु हुँदैन । सही गन्त्व्य पहिँचानका लागि सही सल्लाह आवश्यक हुन्छ । होर्डिङ बोर्ड, ठूला–ठूला भवनमात्र विद्यालय छनोटका आधार बन्नु हुँदैन ।    

माथिल्लो तहलाई लक्षित गरेर विषय छान्ने

भीमप्रसाद कोइराला सह–प्राचार्य सरस्वती सेकेण्डरी स्कूल/परीक्षा संयोजक बज्र इन्टरनेशनल कलेज, जोरपाटी

कक्षा ११ विद्यार्थीको उच्च शिक्षाको पहिलो पाइला हो । यो तहमा धेरै खर्च गरेर ठूलाठूला कलेज रोज्नुपर्छ जस्तो लाग्दैन मलाई  । अहिलेको नियमअनुसार त कक्षा ११ र १२ विद्यालय तह नै हो । खर्च गर्ने र करियर सेट गर्ने त स्नातक तहमा हो । त्यसलै माथिल्लो तहमा जुन विषय पढ्ने इच्छा छ सोबमोजिमको विषय छान्न भने चनाखो हुनुपर्छ ।    

कक्षा ११ मा जीपीएलाई मात्र आधार मानेर विषय छोनेको खण्डमा त्यो घातक हुनसक्छ । कलेज छान्दा नजिकको कलेज छान्दा राम्रो हुन्छ । विद्यार्थीले के बुझ्नु पर्छ भने कलेजहरुले मिडियामा विज्ञापन छाप्ने भनेको विद्यार्थीकै  फिबाट हो ।  विज्ञापन छाप्ने मात्र राम्रो भन्ने भ्रममा नपरौं । नजिकको कलेजमा जाने हो भने विज्ञापन नै चाहिँदैन ।

गुणस्तरीय शिक्षा के हो भनेर बुझाउन सक्नुपर्छ

मदन सुवेदी, क्याम्पस प्रमुख आकाशदीप कलेज, जोरपाटी

विद्यालय छनोटका विषयमा कक्षा ११ पढ्ने विद्यार्थीहरुलाई पर्याप्त हुँदैन । उनीहरुले स्कुलमा जति सुनेका हुन्छन, त्यतिकै भरमा निर्णय लिन्छन । जसले गर्दा विद्यार्थीहरुमा अध्ययन गर्ने विषयमा अपरिपक्क निर्णय लिनसक्ने खतरा हुन्छ । यसतर्फ हामी सबैले ध्यान दिनु आवश्यक छ । अविभावक र विद्यार्थी दुवैलाई उनीहरुको भावना अनुरुपको उचित परामर्श आवश्यक छ, ।

विद्यालय छनोटका आधारहरुमा, हामीसँग फरक फरक शैली विकास भइरहेको छ । जसको मार हामीहरु सबैले भोगिरहेका छन । हाल गोकर्णेश्वर नगरपालिका भित्र २० भन्दा माथि प्लस टु कलेजहरु खुलेको पाइन्छ । हामीले पूर्वी भेगमा रहेका कलेजहरुले शैक्षिक प्रदर्शनी गर्नु आवश्यक छ । हिजो विकल्प थिएन, तर आज यस भेगमा व्यापक विकल्पहरु छन । यहाँ त जसले कक्षा १० का विद्यार्थीले जुन विद्यालयमा पढेर ४ जिपीए ल्याउँछ, उसैले आफ्नो विद्यालयलाई कक्षा ११ मा हामीलाई विश्वास गर्दैनन् । किन त ? त्यसको खोजी गर्ने बेला भइसकेको छ ।

अहिले बच्चा कलेज पढ्न चाहन्छ, स्कूल पढ्न चाहदैन । मैले यस भेगमा भवनलगायतका शैक्षिक पूर्वाधार बनाएँ, तर कक्षा सञ्चालनमा अझै संघर्ष गरिरहेको छु । हामीले गुणात्मक शिक्षा यही छ भन्ने अनुभूति विद्यार्थी र अविभावकलाई गराउन आवश्यक छ । आधिकांश विद्यार्थीहरु नेपालमा कक्षा १२ अध्ययन गरेर विदेश जाने लक्ष्यका साथ हामीकहाँ आउँछन् । उनीहरूलाई कसरी टिकाउने चुनौती विद्यालयसँग पनि छ ।  

हाम्रो प्राथमिकता पर्यटन शिक्षामा

राजकुमार श्रेष्ठ, होली एन्जल्स पब्लिक स्कूल, जोरपाटी

कक्षा ११ र १२ विद्यालय शिक्षाकै अंग भएकाले विद्यार्थीहरुलाई कुन कलेजमा अध्ययनका लागि जाने हो भन्नुभन्दा पनि कक्षा ११ कुन विद्यालयमा पढ्ने भन्ने प्रश्न गर्नु जायज हुन्छ ।  त्यस्तो विषय पढ्ने, जसले विद्यार्थीको भविष्य निर्माणमा सहयोग गरोस् । आफ्नो आर्थिक हैसियत र क्षमतालाई ध्यान दिनु आवश्यक छ ।

यहाँ कस्ता कलेजलाई राम्रो मान्ने भन्ने कुरा अनुसन्धानको विषय हो । विद्यार्थी भर्नाको लागि कलेजमा राखिने शैक्षिक परामर्शदाताप्रति मलाई विश्वास छैन । खासमा विद्यालयले कुनै एउटा क्षेत्रलाई समात्दा राम्रो हुन्छ । जस्तो हामीले ट्राभल टुरिज्मलाई विशेष प्राथमिकता दिएका छौं । कसैले कानूनलाई विशेष प्राथमिकतामा राखेका छन् । यसो भएमा विद्यार्थीलाई रुचिअनुसारको गन्त्व्य पहिल्याउन सजिलो हुन्छ ।  

शैक्षिक वातावरण पहिलो सर्त

विष्णु  पराजुली, प्रोग्रेसिभ माध्यमिक विद्यालय, महांकाल

विद्यार्थीले कलेज छनोट गर्दा उपयुक्त वातावरण, चुस्त व्यवस्थापन, राम्रा शिक्षकको उपस्थिति हेर्नु  आवशयक छ । केही विद्यार्थी अरुको लहलहैमा लागेर कलेज भर्ना गर्ने गर्छन्, त्यो राम्रो होइन । हामीले जिपीएको पछि लाग्नु भन्दा पनि क्षमतालाई चिनेर कलेज छनोट गर्दा उचित हुन्छ ।

त्यस्तै आफू अनुकूल भएको नजिकको कलेजलाई ध्यान दिई सो कलेजको शिक्षकको अवस्था र रिजल्टमा ध्यान पु्र्याउनु उपयुक्त हुन्छ । सरकारले हाल चर्चामा ल्याएको सामाजिक सुरक्षा नीति पूर्ण रुपमा लागू भएमा धेरै निजी स्कूलहरु मर्नेवाला छन् । यहाँ हामी मध्ये ६० प्रतिशतले शिक्षाको अवस्था बुझेर लगानी गरेका छैनौँ । जसलाई जे मन लाग्यो त्यही विषय राखेर कक्षाहरु चलाइरहेका छौँ । हामी जीपीएको पछाडि मात्र नलागौँ ।

बालबालिकको रुचि र क्षमता चिनेर विद्यालय छानौं

प्रेमसिंह श्रेष्ठ, प्रिन्सिपल सुिप्रम इन्टरनेशनल हाइ स्कूल, मैजुबहाल

मुलुकको शिक्षा प्रणाली निजी र सरकारी दुई खेममा विभाजित छ । निजी विद्यालयहरू शैक्षिक गुणस्तरमा अघि देखिएपनि संख्यात्मक रुपमा सरकारी विद्यालय नै धेरै छन् । शिक्षाको जग वास्तवमा विद्यालय शिक्षा नै हो ।  जसले विद्यालय तहमा राम्रो गर्छ उ माथिल्ला डिग्रीमा पनि अब्बल सावित हुन्छ । 

मेरो विचारमा १५ वर्षको उमेरमै बालबालिकाले ‘गोल सेट’ गर्न सक्छन् जस्तो लाग्दैन । उनीहरू अभिभावक र साथीभाइबाट निर्देशित हुने गर्छन् । यस्तो अवस्थामा विद्यालय छनोट गर्दा पहिले कलेजको इतिहास हेर्नु आवश्यक छ ।

कस्तो व्यक्तिले कलेज खोलेका छन ? त्यसलाई ध्यानदिनु आवश्यक छ । कलेजको रिजल्ट पनि अर्को मननीय पक्ष हो । कलेज छान्दा सकभर घर नजिक पायक पर्ने रोज्नु पर्छ । अविभावकको आर्थिक क्षमता अर्को पक्ष हो । कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकाले इच्छा अनुसारको विषय पढ्न सक्दैनन् ।  विद्यार्थीले फ्याकल्टी छान्दा आफू मिल्दो, देश सुहाउँदोर माटोअनुसारको हुन आवश्यक छ । बिडम्वना नेपालमा कृषि छान्ने अवस्था छैन । बाहिरकै उत्पादनले बजार धानेको छ ।

कलेज महँगो छान्दैमा गुणस्तर कायम हुदैँन

मोहनराज राई,सहायक क्याम्पस प्रमुख, जि.पी कोइराला सामुदायिक कलेज, चावहिल

विद्यालय छनोटका लागि ऐतिहासिक पृष्ठमूमिसँगै भौतिक अवस्था, शैक्षिक गुणस्तरलाई आधार मान्नु आवश्यक हुन्छ । कलेज महँगो छान्दैमा शैक्षिक गुणस्तर कायम हुन्छ नै भन्ने पनि त हुँदैन ।

सस्तो खालका सामुदायिक कलेजमा रहेको गुणस्तरलाई नजर अन्दाज गर्न कदापि मिल्दैन । त्यसैले कलेज छान्दा सस्तो, घरपायक, गुणस्तर, विद्यार्थीको रुचि र क्षमता अनुसार हुनु जरुरी छ ।

 

सिकाइकेन्द्रित विद्यालय राम्रा

नारायण नेपाल, उपप्राध्यापक, पशुपति बहुमुखी क्याम्पस, काठमाडौं

यहाँ शिक्षा अब समाजसेवा भएन व्यापारिक भयो कि भन्ने लाग्छ । मलाई सरकारी विद्यालय निजीका तुलनामा भनिए जति कमजोर छन् भन्ने लाग्दैन । यहाँ अधिकांश आफू सरोकार राख्छु भन्ने विज्ञहरू ठूला पल्टने तर विद्यार्थीलाई असल मात्र बन्नु पर्छ भन्ने मलाई ठीक लाग्दैन । देशमा शैक्षिक भ्रष्टाचार बढेको छ । यहाँ सेन्टरलाई नै प्रभावित गर्ने कार्य भएका छन् । तात्विक रूपमा सिकाइ  खस्कँदो नै छ ।

विद्यालय जो पठनपाठनमा अब्बल कहलिएका छन् त्यतातर्फ जानु राम्रो । फेरि त्यहाँ पनि प्रचार/प्रसारमात्र हो कि साच्चै राम्रो शैक्षिक वातावरण छ त्यो पक्ष पनि हेर्नुपर्ने हुन्छ । कलिला विद्यार्थीले यसलाई बुझ्ने हैसियत त्यति राख्दैनन् जस्तो लाग्छ । यस्ता अवस्थामा  शैक्षिक व्यापारीबाट कसरी जोगिने र आफ्ना नानीबाबुलाई सकेसम्म करियरमूखी शिक्षामा कसरी पथप्रदर्शक हुने भन्नेजस्ता कुरामा अभिभावक चनाखो हुनुपर्छ ।

रुचिको विषय छान्ने

डिपी लामिछाने,सह–प्रधानाध्यापक श्रम राष्ट्रिय माध्यमिक विद्यालय, कुमारीगाल

अहिले धेरै थरी विद्यालय छन् । अभिभावक कक्षा ११ कहाँ पढाउने भन्ने चिन्तामा पनि देखिन्छन् । मेरो विचारमा पहिला विद्यार्थीको क्षमता,रुचि र उसले भविष्यमा चाहेको उपलब्धिमा केन्द्रित हुनुपर्छ । ठूलठूला भवन,गाडी सुविधा जस्ता पक्षमात्र विद्यालय छनोटका आधार बन्नुहुन्न । हामीले त कक्षा ११ सञ्चालन गरेका छैनौं तैपनि म भाइबहिनीलाई भन्न चाहन्छु आफू भविष्यमा कुन क्षेत्रमा जाने हो त्यही बिषय छान्दा राम्रो हुन्छ ।

नजिकको विद्याल पढ्दा समय जोगिन्छ

दामोदर निरौला,अध्यापक नेसफिल्ड इन्टरनेसन कलेज,बटुक भैरव, ललीतपुर

कक्षा ११ कहाँ पढने ? के विषय पढने भनेर अहिले अभिभावक र विद्यार्थी साच्चै भौतारिएको अवस्था छ । साथीभाई आफन्तको सल्लाहमा पनि कतिले विद्यालय छनोट गरेका छन् । मलाई पनि के पढ्दा राम्रो हुन्छ, कुन विद्यालय छान्ने भनेर थुप्रैले सझाव माग्ने गरेका छन् ।

म विद्यार्थीलाई सबैभन्दा पहिला नजिक घरपायक पर्ने विद्यालय छान्न सुझाव दिन्छु । टाढा विद्यालय छान्दा धेरै समय वर्वाद हुन्छ । अर्को कुरा आफ्नो रुचि अभिभावको सुझाव र साथी सर्कलको सल्लाह पनि यतिबेला मान्ने हुन्छ । मुख्य कुरा विद्यार्थी आफू इमान्दार बन्ने हो कुनै पनि शिक्षण संस्थाले औषधि पिलाए झैं ज्ञान दिने त होइन । बाटो देखाउने हो हिडने त आफैं हो । तस्विरः रमेश दवाडी

 

 

प्रतिकृया दिनुहोस

पन्ध्रौं वाइ वाइ नेशनल एजुकेशन

परम्परागत सिकाइ शैली फेर्दै डियरवाक

पशुपति मित्र माविलाई ‘शैक्षिक हव’

कक्षा १२ को नतिजा प्रकाशित,३ हजार

इ–लर्निङका लागि म्याक्स कनेक्टको

वीरेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला