कक्षा ११ कहाँ पढने ? कुन विषय रोज्ने?

 कक्षा ११ कहाँ पढने ? कुन विषय रोज्ने?

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा प्रकाशित भएसँगै मुलुकभरका लाखौं विद्यार्थी कक्षा ११ मा भर्ना हुने हतारोमा छन् । कुन कलेज पढने ? के विषय छान्ने ? चौतर्फी पिरालोमा छन् उनीहरू । अर्कोतिर घरपरिवारले राम्रो विषय छान्नुपर्छ भन्ने दबाव झल्दै एसईईको सर्टिफिकेट बोकेर कलेज चाहार्दैछन् विद्यार्थीहरू ।  यता,निजी कलेज सञ्चालकहरू मिडियामा ठूलठूला विज्ञापन गरेर विद्यार्थी तान्ने होडबाजीमा देखिन्छन् । उनीहरू खासगरी काठमाडौं लगायत शहरी क्षेत्रमा एसईई परीक्षाका बेला नै परिक्षार्थीलाई आफ्ना ब्रुसर भिडाएर विज्ञापन गरेको प्रतिफल खोज्न तल्लीन छन् ।

उनीहरूको पक्षबाट यो ठिकैपनि होला । तर, मुलुकको वर्तमान शिक्षा नीतिबाट उत्पादित जनशक्तिबाट समाजले कस्तो गन्तव्य पाउला ? यस विषयमा भने हाम्रा क्याम्पसहरू बोलेको देखिदैनन् । बढीभन्दा बढी विद्यार्थी तान्ने र उत्कृष्ट ग्रडिङका विद्यार्थीलाई मात्र केन्द्रबिन्दुमा राखेर भर्नाका नाममा ‘इन्ट्रान्स’ मार्फत विद्यार्थी छान्न जुटिरहेका छन् कलेजहरू । टिन एजर्स विद्यार्थीले कलेज छान्दा  के–केमा ध्यान दिने ? कस्ता विषय पढ्दा करियर राम्रो हुन्छ ? समाजमा अब्बल बन्न कुन मार्ग समात्ने र गुणस्तरीय शिक्षा के हो ? भन्ने विषयमा केन्द्रित भएर अमरवाणी अनलाईनले लामो अवधि शिक्षण पेशामा तल्लीन व्यक्तित्वहरूसँग राउण्ड टेबल छलफल गरेको थियो । प्रस्तुत छलफलमा सहभागीहरूको धारणाः  

सक्षम पुस्ता निर्माण गर्नु आजको आवश्यकता

 

डा.रामप्रसाद दाहाल,  अध्यक्ष, मोर्डन कन्या बहुमुखी क्याम्पस 

मुलुकको शिक्षा नीति उदेक लाग्दो छ । अहिले एसईईको रिजल्टपछि सबै कलेजहरू विद्यार्थी तान्न तल्लीन देखिन्छन् । विद्यार्थीहरू पनि आफ्नो उज्वल भविष्यको खोजीमा कलेजको ढोका–ढोकामा पुगि रहेका छन् । हामीले भन्न सकेका छैनौं कि तिमी यो विषय पढ राम्रो हुन्छ, सबै ‘भ्रदगोल’ अवस्था छ । शिक्षण संस्थाले विद्यार्थीको २ वर्षको पढाईमात्र हेर्ने होइन सभ्य पुस्ता निर्माणकालाई असल नागरिक जन्माउने दायित्व पनि लिने हो । तर, हजारौं शिक्षण संस्था छन् यो भावना कतै देख्दिनँ म ।  

नेपालको शिक्षा प्रणालीको कुरा गर्ने हो भने यहाँ जसले पाठ्यक्रम बनाउँछ उसले पाठ्यपुस्तक लेखेको हुँदैन, पाठ्यपुस्तक लेख्नेले पढाउँदैन र प्रश्नपत्र बनाउनेले कपी जाँच्न पाउँदैन । यसबाट पाठ्यक्रम निर्मार्ताको अन्तरआशय शिक्षकले बुझेको हुँदैन । हाम्रो शैक्षिक गुणस्तमा देखिएको मुख्य अर्को चुनौती यो हो । शैक्षिक प्रणाली र गुणस्तरलाई उच्चस्तरीय बनाउन यी कुराहरूको समायोजन आजको आवश्यकता छ । हाम्रा विद्यार्थीमा श्रमप्रतिको सम्मान पटक्कै भएन,यसको कारण खोजिनुपर्छ । 

आज सीप र शोमतकाबीचको अन्तर निकै वढेको छ । सीप अलिकति वृद्धि भएको त देखिन्छ तर अनुशासन, इमान्दारिता, सामाजिकता र साँस्कृतिक चेतना बढ्दो रूपले खस्किदै गएको छ  । अहिले उच्च माविलाई माविमा झारेर विद्यार्थी र शिक्षक दुबैको मनोबल घटाउने काम मात्र भएको छ । नयाँ शिक्षा नीति बनाउने नाममा मुलुकको शिक्षा प्रणाली सधंै प्रयोगशाला बनेको अवस्था छ ।

मुलुकभरको शैक्षिक व्यवस्थामा एउटै मापदण्ड कायम गर्नुपर्ने आवश्यकता छ । विद्यार्थीले पनि अब क्याम्पसका भवन होइन गुणस्तरीय शिक्षालाई हेर्नुपर्छ । मुलुकमा संघीय प्रणाली सुरू भइसकेकोले सरकारले अब सातैओटा प्रदेशमा एक–एक ओटा नमूना (मोडेल) क्याम्पस बनाउनु आवश्यक देखिन्छ । ताकि यसैलाई नमूना मानेर निजी क्षेत्रले समेत शिक्षा दिन सकोस् । 

  स्वदेशमुखी जनशक्ति उत्पादन जरुरी 

चन्द्रप्रसाद पन्त  सहायक, क्याम्पस प्रमुख पशुपति बहुमुखी क्याम्पस  मित्रपार्क,चावहिल

  मुलुकमा दुई खाले शिक्षा प्रणाली विध्मान छ । सामुदायिक कलेज र सरकारी कलेज एकतिर निजी कलेज अर्कोतिर । प्राइभेट कलेजहरूले शिक्षामा जति नै गुणस्तर प्रदान गरेको फूर्ति लगाएपनि तिनका उत्पादन नेपालका लागि भन्दापनि विदेशका लागि तयार पारिएका छन् । यो स्वीकार्नै पर्छ । जसरी अहिले प्लस टु खोज्न राम्रो ग्रेड ल्याएका विद्यार्थी भौतारिएका छन् त्यसरी नै १२ कक्षा पास गरेपछि उनीहरू कन्सलटेन्सीको ढोका–ढोका चहार्दै जान्छन् । के यही हो हाम्रो शिक्षाको राष्ट्रिय उद्देश्य रु सबैले साइन्स नै पढनुपर्छ, व्यवस्थापन नै पढनुपर्छ भन्ने छैन् । विद्यार्थीले रूचीको विषय पढने हो । त्यो वातावरण अभिभाव, राज्यको शिक्षा नीति र शिक्षण संस्थाहरूले बनाइदिने हो ।  अर्को शिक्षामा राज्यले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हो त्यो मापन भएको देखिन्न ।  चिकित्सा र इन्जिनीयरिङ तर्फ त्यस्तो छैन,त्यसकारण विदेशबाट समेत यहाँ पढन आउछन् ।  

 अहिलेको शिक्षा प्रणालीलाई कम्युनिष्टले बुजुर्वा शिक्षा भन्छन् । सरकारको नेतृत्व उनीहरूले नै गरेका छन् । तर, शिक्षा प्रणालीमा रत्तिभर पनि परिवर्तन गरेका छैनन् । झन निजीकरणलाई प्रोत्साहन गरिराखेको अवस्था छ । यो नीति त्यो अवोध भर्खर कलेज पाइला टेक्दै गरेका विद्यार्थीलाई के थाहा रु विद्यार्थीको मापन गर्ने परीक्षा प्रणाली देख्दा दिग्दार लाग्छ । लामो समयदेखि म उच्च शिक्षाका परीक्षाहरू निकट रहेर नियाल्दै आएको छु । परीक्षा केन्द्रदेखि उत्तरपुस्तिका जाँच्ने बेलासम्म सेडिङ छ । सबैलाई भन्दिन् तर यसमा पनि निजी कलेज सञ्चालक नै अगाडि छन् । यस्ता कार्यले विद्यार्थीको सिकाइको स्तर निकै खस्केको छ । यो चिन्ताको विषय हो । अघि डा। रामप्रसादले भने जस्तो समान किसिमका सिकाइ शिक्षण संस्थाको लक्ष्य बन्नुपर्ने हो त्यस्तो हुन सकेको छैन् । त्यसका दोषी हामी पनि हौं यो स्वीकार्नै पर्छ । म त्यसको जिम्मा लिन तयार छु । 

नैतिक र व्यवहारजन्य शिक्षा प्रदानमा गर्न नसकिएको अर्को सत्य हो । त्यसका धेरै कारण छन् । इन्टरनेट प्रविधिले विश्वलाई औलामा कैद गरेको छ, त्यसको प्रभाव आमसर्वसाधारणम त परेको छ भने कलेज पढने विद्यार्थीमा नपर्ने कुरै भएन । प्रविधिको राम्रो पक्ष प्रयोग गर्न विद्यार्थीलाई उत्पे्ररित गर्ने हो । यो नियन्त्रण गरेर साध्य चल्दैन । नियन्त्रण गर्ने अधिकार कलेजसँग हुन पनि हुँदैन् । 

रूचीको विषय छान्दा भविष्य राम्रो हुन्छ

श्याम सुन्दर श्रेष्ठ, भाइस प्रिन्सिपल, टेक्सस इन्टरनेशनल कलेज मित्रपार्क, चावहिल 

नेपालको शिक्षा नीतिलाई मनन् गर्दा भविष्यमा भौतिक र आध्यात्मिकलाई समायोजन (फ्युजन) गरेर अगाडि बढाउनुपर्छ । अहिलेको शिक्षा नीति अन्त कतैबाट डिजाइन भएर आएको र हाम्रो सरकारले लागू गरेको अनुभूति हुन्छ । यसबाट हामीले चाहेको शैक्षिक गन्तव्य भेट्टाउन सकिदैन् । न त हाम्रो नयाँ पुस्ताले खोजे जस्तो शिक्षा प्राप्त हुन्छ ।   समाजमा सबै विषयको उत्तिकै महत्व छ । नेपाललाई अहिले सबै विषयका विज्ञ आवश्यक छन् ।  त्यसैले शिक्षामा कुनै पनि विषय राम्रो वा नराम्रो भन्ने हुँदैन । विद्यार्थीले आफ्नो रूचीको विषय छान्ने हो र आफ्नो भविष्य सुनिश्चित गर्नुपर्छ जस्तो लाग्छ ।  निजी क्षेत्रले शिक्षामा अगाडि बढ्न अभिभावकको मन जित्ने र राम्रो सेवा दिएरै हो । राम्रो सेवा दिन सकिएन भने प्राइभेट कलेजलाई कसैले सिध्याउनै पर्दैन, आफैं सिद्धिन्छन् तर निजी क्याम्पसले शिक्षामा गुणस्तरीयता कायम गर्न खर्च गर्नेपर्ने हुन्छ ।

यसका लागि विद्यार्थीसँग शुल्क लिनैपर्छ । यद्यपी यसका नाममा मनपरी शुल्क तोकिनु ठीक कुरा होइन ।  उत्कृष्ट देखिनका लागि हामीले शैक्षिक मूल्य, मान्यता र आदर्शलाई समेत तिलाञ्जली दिन सुरू गरेका छौँ । सेटिङमा रिजल्ट गरेर उत्कृष्ट परिणाम ल्याएर विद्यार्थी आकर्षित गर्ने एउटा कुत्सित र गलत कार्यको थालनी भएको समेत हामीले बुझेका छौँ । यसबाट शिक्षा पद्धतिमा ‘मोरल भ्यालु’ हराउँदै गएको छ ।

 शिक्षा भनेको पैतालामा प्रगति र आत्मामा शान्ति हो । यो कुरा हामीले बुझाउन सक्नुपर्छ । पश्चिमी दर्शनले अबको शिक्षा भनेको भौतिक दर्शन  र अध्यात्मिक दर्शनलाई  नजिक ल्याउने खालको हुनुपर्छ । संसारका सबै मानिसलाई सुन्दर कुरा मनपर्छ । त्यसैलले ए प्लस ल्याउनेको रोजाई राम्रो विषय हुन्छ यसलाई अन्यथा मान्नु हुन्न् ।

प्रविधिमैत्री सिकाइमा केन्द्रित छौं  

 

रविन कोइराला, क्याम्पस प्रमुख, लुम्बिनी कलेज

अहिले विद्याथीलाई कलेज छान्ने चटारो छ, कलेजमा पुग्ने विद्यार्थी भौतिक पूर्वाधारप्रति जति सचेत देखिन्छन् त्यति नै सजग छन् क्याम्पसको पठनपाठनको वातावरण प्रति । कलेजमा कत्तिको स्वतन्त्रता छ भन्ने पनि खोज्दा रहेछन् । यसले के देखाउँछ भने उनीहरूलाई नियन्त्रण होइन खुला सिकाइ रुचाउँछन् । हामीले त्यसैकारण कलेजमा वाइफाई फ्रि गरेका छौं ।

एप्स बनाइएको छ, त्यसले आधुनिक सूचनापाटीको काम गरेको छ । रिजल्ट, परीक्षाबारे सूचना दिन यो निकै प्रभावकारी बनेको छ । त्यसैले हामी मोबाइल बन्द गर्ने पक्षमा होइन त्यसको सही उपयोग गर्नेमा जोड दिन्छौं ।     ग्रेडिङ मार्किङ प्रणालीले सिकाईको स्तर घटाउनुका साथै विद्यार्थीमा बढी मेहनत सोचमा कमी ल्याएको जस्तो लाग्छ । त्यसको असर कक्षा ११ र १२ मा पनि पर्छ ।   

विद्यार्थीहरूमा ६/७ कक्षामा  पढ्दादेखि नै म फेल हुन्न भन्ने मनोविज्ञान विकास भएको छ । त्यसैले ऊ जस्तो शैक्षिक वातावरण दिए पनि सोचे अनुसार पढ्दैन । यसलाई सहज क्रियाकलाप र अतिरिक्त क्रियाकलापका माध्ययमबाट शिक्षण गर्नुपर्ने देखिन्छ । अहिलेको पठनपाठन विद्यार्थी  केन्द्रित विधिमा आधारित हुनुपर्छ भन्नेमा दुइमत नै छैन् । विषयवस्तुमा शिक्षक अपडेट नभएपछि विद्यार्थीले रुचाउँदैन् । 

 

तस्बिर : रमेश दवाडी/अमरवाणी

प्रतिकृया दिनुहोस

अस्थायी शिक्षकका माग पूरा गर्छुःशिक्षा

काठमाडौं जिल्लामा पहिलो विद्यालय

कक्षा १२ को पूरक परीक्षा नतिजा सार्वजनिक

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल

पी पी फाउन्डेसन पुरस्कार प्रभाकर

राजनीति त्यागेर शिक्षक बनिन् गरिमा

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला