उखु उत्पादक र चिनी उद्योगीबीचको वार्ता निष्कर्षबिहीन, उखु क्रसिङको विषय अन्योलमा

उखु उत्पादक र चिनी उद्योगीबीचको वार्ता निष्कर्षबिहीन, उखु क्रसिङको विषय अन्योलमा

मङ्सिर १९, बर्दिवास । उखु उत्पादक किसान र चिनी उत्पादक उद्योगीबीच उखुको मूल्य र उखु क्रसिङ (उद्योगमा उखु पेल्न थाल्ने काम) बारे सहमति हुन नसक्दा महोत्तरीसहित तराई क्षेत्रमा अन्योल बढेको छ ।

मङ्गलवार अबेर रातिसम्म महोत्तरीको बर्दिवासमा बसेको उखु उत्पादक सङ्घ र उखु उत्पादक कृषक सङ्घमा आबद्ध किसान प्रतिनिधि र चिनी उत्पादक नेपाल चिनी उत्पादक महासङ्घका प्रतिनिधिबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि दुबै पक्षबीच अन्योल बढेको हो ।

‘वार्तामा हामीले उखुको मूल्य निर्धारण गरेर उखु क्रसिङ मङ्सिरभित्रै शुरु गर्न आग्रह गर्‍यौँ,’ प्रदेश नं २ को सर्लाहीबाट प्रदेशसभा सदस्यसमेत रहेका उखु उत्पादक किसान डिल्लीप्रसाद उप्रेतीले भने, ‘तर उद्योगी उखुको मूल्य निर्धारण गर्ने कुरामा निकै तल झर्न खोज्नुभयो, त्यसैले सहमति हुनसकेन ।’ गत वर्ष किसानले रू. ५ सय ३६ प्रतिक्विण्टल पाउने सहमति भए पनि पहिलो किस्तापछि उद्योगले रू. ४ सय ६५ प्रतिक्विण्टल मात्र दिएको बताउने किसान प्रतिनिधिले यसपाली उद्योगीले कृषि मन्त्रालयले सिफारिस गरेको रू. ५ सय २८ प्रतिक्विण्टल पनि दिन नसक्ने बताएपछि सहमति हुन नसकेको बताएका छन् ।

‘प्रत्येक वर्ष हामी किसानलाई फसल उब्जाएर किमत (मूल्य) लिने बेलामा यस्तै झण्झटमा फसाइन्छ,’ उखु उत्पादक सङ्घ रामनगर महोत्तरीका सदस्य दिनेश यादवले भने, ‘अब हामीले परिवारको गुजारा कसरी चलाउने ?’

महोत्तरीको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल)मा गतवर्ष ४२ लाख ७० हजार क्विण्टल उखु क्रसिङ भएको थियो । यसपालि उखु खेती बढेर ५० लाख क्विण्टल नाघ्ने देखिएका बेला बढेको अन्योलले उखु खेतबारीमै सुक्ने स्थिति बनेको अर्का किसान प्रतिनिधि उखु उत्पादक सङ्घ रामनगर महोत्तरीका अध्यक्ष श्याम शङ्कर बताउँछन् ।

चिनी नबिकेर उखुको भुक्तानी दिने सक्ने अवस्था छैनः चिनी उत्पादक

यता नेपाल चिनी उत्पादक महासङ्घका प्रतिनिधि (चिनी उद्योगका प्रतिनिधि) भने आफूहरूको उत्पादन (चिनी) नबिकेर गोदाममा थन्किएको बताउँदै किसानलाई उखुको भुक्तानी दिन नसक्ने भएकाले उद्योग सञ्चालन गर्ने अवस्था नबनेको बताउँछन् । ‘हाम्रो उत्पादन गोदाममा थन्किएको छ,’ एभरेष्ट चिनी उद्योगका कार्यकारी सञ्चालक सुरेशकुमार सर्राफले भने, ‘चिनीको आयात खुला भएकाले हाम्रो उत्पादन विक्री भएको छैन, अब त उद्योग नै धरासायी हुने भो, हामी के गरौँ ?’

यसैगरी वार्ताका सहभागी सर्लाही, हरिऔनस्थित इन्दुशङ्कर चिनी उद्योगका कार्यकारी निर्देशक राजेश केडियाले पनि अब उद्योगीहरूको मर्का नहेरिए उद्योग सञ्चालनको स्थिति नरहने बताए । सरकारले विज्ञसहितको टोली गठन गरेर उखुको मूल्य निर्धारण गर्दै चिनीको आयात रोकेमात्र उद्योग सञ्चालन हुनसक्ने उद्योगीहरूले एकमुखले बताएका छन् ।

‘सरकारले दिने वैज्ञानिक ठम्याइसहितको समाधान स्वीकार्य’

वार्तामा पूर्वदेखि पश्चिम तराईका १४ चिनी उद्योगका सञ्चालक र प्रशासक, उखु उत्पादक किसानका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधि र अगुवा किसानको सहभागिता थियो । वार्ता निष्कर्षविहीन भएपनि दुवै पक्षले यसमा सरकारले दिने वैज्ञानिक ठम्याइसहितको समाधान भने आफूहरुलाई स्वीकार्य हुने बताएका छन् ।

खेतबारीमा तयार भएको फसल काटेर मूल्य पाउनु पर्ने बेला बढेको अन्योलले यस भेगका उखु किसान बिलखबन्दमा परेका छन् । किसान प्रतिनिधि संस्था र उद्योगीबीच भएको वार्तामा उखुको मूल्य र उखु क्रसिङबारे सहमति नहुँदा किसानलाई खेतबारीमा तयार उखु के गर्ने भन्ने चिन्ता बढेको छ । ‘रगत पसिना एक गरेर उखु तयार भयो,’ वार्ताको निष्कर्ष सुन्न वार्तास्थल बाहिर पर्खेर बसेका महोत्तरीको भङ्गाहा नगरपालिका–४ का उखु किसान गङ्गाराम महतोले वार्ता बिनानिष्कर्ष टुङ्गिएको सुनेपछि विरक्तिँदै भने, ‘अब हाम्रो खेतबारीमा तयार उखु के गर्ने ?’

चिनी उद्योगी र उखु उत्पादक किसानका प्रतिनिधिबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएपछि सामाजिक र राजनीतिक क्षेत्रका अगुवाहरूले पनि अब तत्काल सरकारले उचित निकासका लागि पहलकदमी लिनुपर्ने सुझाव दिएका छन् । यसमा तत्काल निकास नखोजिए करोडौँ मूल्यको उखु खेर जाने र करोडौं लगानीका उद्योग धरासायी हुने अवस्थाप्रति सरकारले तत्काल ध्यान दिनुपर्ने महोत्तरी–१ ‘क’ बाट प्रदेशसभा सदस्य रहेकी शारदा थापाले बताइन् । रासस

प्रतिकृया दिनुहोस

कृषि पूर्वाधार र यान्त्रिकीकरणमा

उखु उत्पादक र चिनी उद्योगीबीचको वार्ता

व्यापार घाटा साढे तीन खर्ब

सरकार ठूला ठेक्का विदेशीलाई सुम्पन

सेयर लगानीकर्ताले गरे नेप्से घेराउ

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट,

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला