काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन एसपी डिल्लीराज विष्ट तथा बम दिदीबहिनी बबिता र रोशनीमाथि पुनः छानबिन गर्न सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगले निर्देशन दिएको छ । आयोगले घटनाको छानबिनपछि तयार पारेको प्रतिवेदनमा यस्तो निर्देशन दिएको हो ।
आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार कञ्चनपुर पुगेर तयार गरेको प्रतिवेदनका आधारमा एसपी विष्ट एवं बम दिदीबहिनीलाई पुनः अनुसन्धानको दायरामा ल्याई छानबिन गर्नुपर्ने देखिएको हो । आयोगले सरकारलाई आठबुँदे निर्देशनात्मक सुझाव दिएको छ ।
‘लास फेला परिसकेपछि घटनास्थल तथा त्यहाँ रहेका प्रमाणको संरक्षण उचित ढंगले स्थानीय प्रहरीबाट भएन, प्रमाण संरक्षण र संकलनको अतिरिक्त प्रमाण नष्ट गरेको पाइयो, अपराधी पत्ता लगाउन कुकुर परिचालन नगरेको भेटियो,’ आयोगको प्रतिवेदनमा उल्लेख छ, ‘प्रहरी कार्यालयका प्रमुख घटनास्थलमा आफैं उपस्थित नभएको, समन्वय नगरेको हुनाले उनीमाथि थप अनुसन्धान आवश्यक छ ।’
पन्त हराएकै दिन निजकी आमाले बम दिदीबहिनीको घरमा सोध्दा खोजी नगरिएका कारणले पनि उनीहरूमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । शंकास्पद व्यक्तिहरूको डीएनए परीक्षण गरिएको भनिएता पनि उक्त ल्याबमा प्रयोग गरिएका औजार, रसायनको प्रयोग, भेजिनल स्वाब सुरक्षा र वीर्य परीक्षण गर्न पर्याप्त तत्वहरू थियो वा थिएन सोको समेत पुनः विश्लेषण तथा जाँच गर्न आयोगले भनेको छ ।
बलात्कार एवं हत्याको घटना भइसकेपछि अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने भए पनि नेपाल प्रहरीले गरेको अनुसन्धानमा सूक्ष्म वैज्ञानिक परीक्षण र विश्वसनीयता नहँुदा आममानिस तथा पीडित परिवारमा निराशा बढेको निष्कर्ष आयोगको रहेको सचिव वेद भट्टराईले जनाएका छन् ।
प्रकाशित २२ आश्विन २0७५ , सोमवार | 2018-10-08 02:29:50
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार