दाने बोहरा/हुम्ला । ठेकेदारको लापरवाहीको कारण हुम्लाका ११ ओटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेको छ । समयमै निर्माण सामग्री ढुवानी नगर्दा निर्माण कार्य अलपत्र परेको हो ।
टर्सी कार्गाे ढुवानी सेवाका सोनाम लामाले ०७२ सालमा ४ ओटा झोलुङ्गे पुल मुचु, बुराउसे घाटेखोला, ठाडोखोला ठेहे र सिक्पाखोलाको निर्माण सामग्री ढुवानी गर्ने ठेक्का पाएका थिए । त्यस्तै, ०७३ मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दिपक रावतले ७ ओटा पुलको ठेक्का पाएका थिए । चारटाङ्ग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला कालिका, खारखोला दार्मा मिमिखोला, पोरीगाउँ खोला नेप्का, बालुखोला ट्रस गोठी रोडिकोटको सामग्री ढुवानी गर्ने ठेक्का लिएका रावतले तोकिएको अवधिमा काम पुरा गरेनन् ।
जिल्ला समन्वय समिति कार्यालयका ईन्जिनियर देवी एडी भन्छन्, ‘सामान अभावकै कारण पुल निर्माणको काम प्रभावित भएको छ ।’ लगभग ९० प्रतिशत सम्पन्न भईसकेको छ । बाँकी १० प्रतिशत काम सामग्री समयमै ढुवानी नभएको कारण रोकिएको उनको भनाई छ ।
झोलुङ्गे पुल निर्माणको लागि विनियोजित ४ करोड ४० लाख रुपैँया मध्ये डेढ करोड रकम फ्रिज भएको ईन्जिनियर ऐडीको भनाई छ । समयमै निर्माण कार्य सम्पन्न हुन नसक्दा रकम फ्रिज भएको छ । ‘साउनको १० गते म्याद थप गर्नुपर्ने थियो तर म्याद थप गर्न पनि ठेकेदारहरु आएका छैनन् ।’ उनले बताए । समयमै पुल निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयहरुलाई आवतजावतमा समस्या परिरहेको छ । झोलुङ्गे पुलको अभावमा स्थानीयहरु तुईन प्रयोग गर्न बाध्य छन् ।
प्रकाशित २९ साउन २0७५ , मङ्गलबार | 2018-08-14 08:17:09
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार