गाई जलेर मरेको गोठमा यसरी फर्कंदैछ खुसी

काठमाडौँ । जित्नेहररूका लागि हरेक समस्या एउटा नयाँ बिहान हो, हार्नेहरुका लागि जिन्दगी समस्या नै समस्याहरुको चिहान हो । यो कथा बाबुराम कार्की र उनकी सानी छोरीको हो, यो कथा एक सय २२ वटा गाईको हो । यो कथा कुनै महान कथाकारले रचेको काल्पनिक कथा भन्दा कम छैन् । तर, यो नियतिले रचेको कथा हो । हो, बारम्बार पछारिँदै जुरुक्क उठ्दै गरेका बाबुरामको विचित्र कथा हो यो ।

त्यो एउटा दुर्दान्त दिन

केही महिना अघि एउटा विष्मयकारी समाचारले करोडौं मानिसको मनमष्तिष्क नराम्ररी हल्लाइदियो । त्यो दिन थियो ३ असार २०७३ ।

त्यो दिन काठमाडौंको सुन्दरीजल स्थित एउटा गोठमा एक सय १० वटा गाई जलेर एकै चिहान भएको खबर डढेलो सरी फैलिएको थियो । दसवटा गाई जलेर मर्नु न बाँच्नुको अवस्थामा पुगेका थिए ।

त्यो गोठका मूल गोठालो थिए बाबुराम कार्की । विद्युतीय गडबडीले आगलागी भएर गोठका एकसय २२ मध्ये एक सय १० वटा गाई मारिए ।

गोठमा आगलागी आफैमा विष्यमयकारी थियो, त्यसमाथि त्यति ठूलो संख्यामा गाई मारिनु दुर्दान्त थियो । पूरै मुलुक शोकमा डुब्यो ।

अनुमान गरौं, बाबुरामको हालत के भयो होला ? बाबुराम भन्छन्, ‘गोठ आगलागी भएपछिको १० दिन केके भयो मलाई याद छैन । म अर्ध बेहोस थिएँ ।’

दैनिक सयौं लिटर दूध दिने ती प्यारा गाईको विभत्स मृत्युमा बाबुरामले निरन्तर आँशु बगाए । तर, दूध जसरी आँशुलाई लिटरमा नाप्न सकिएन ।

महावियोगको अवस्था थियो त्यो ।

 

र, सिन्धु पनि मरिन्

गोठका सबै गाईसँग बाबुरामको भावनात्मक सम्बन्ध थियो । बाबुरामले ती मध्ये कैयन गाईलाई काखमा राखे जसरी हुर्काएका थिए । सन्तानतुल्य थिए ती गाईहरु ।

जलेर घाइते भएर गाईले विभत्स चित्कार गरेका थिए । ती दर्दनाक आवाज सम्झँदा अहिले पनि उनी आँशु थाम्न सक्दैनन् । आँशु पुछ्दै उनले भने, ‘घरपरिवार जस्ता मेरा सबै गाई मरे । सिन्धु पनि मरिन् ।’

एउटी गाई थिई, सिन्धु । सिन्धुबाटै सुरु हुन्छ बाबुरामको गोठको कथा ।

बाबुरामकी छोरी अहिले आठ वर्षकी छिन्, नाम हो ओजश्वी । पाँच वर्ष अघि उनले ओजश्वीलाई गाईको शुद्ध दूध खुवाउने विचार गरे । तर, भनेजस्तो सहज तरिकाले दूध पाइएन । आमाले बाबुरामलाई भनिन्, ‘अब आफै गाई पाल ।’

बाबुरामले गाई पाल्ने निधो गरे । तर, एउटा पालेर के गर्नु ? ६ वटा पाले । भक्तपुरको दूधबाटीमा गोठ बनाए ।

तिनैमध्येकी एउटी थिई सिन्धु । सिन्धुकै दूध पिएर हुर्केकी हुन् ओजश्वी । त्यसैले सिन्धुसँग बाबुरामको अलि विशेष सम्बन्ध थियो । ओजश्वी पनि सिन्धुसँग झ्याम्मिन्थिन्, सिन्धुले ओजश्वीलाई माया देखाउँथिन् ।

आगलागीमा सिन्धु पनि मरिन् । सिन्धु र ओजश्वीको कथा बताएर बाबुराम घोप्टो परे । आँखा पुछे । अनि, ठाडो भएर मुसुक्क हासे । असाध्यै हसिला छन् बाबुराम । यहाँ दिइएको भिडियोमा पनि हेर्नुस् न, आँशु लुकाएर कसरी हास्छन् बाबुराम ।

सुन्दर, शान्त र विशाल परिवार

गाईहरुसँग उनले यस्तो ‘लभ’ परेछ कि दिन बितेको पत्तै पाएनन् । दत्तचित्त भएर गाईको सेवामा लागे, गाईले पनि उनको सेवा गर्न थाल्यो । अर्थात्, मनग्ये दूध दिन थाल्यो । हेर्दाहेर्दै उनको गोठ ४० वटा गाईको सुन्दर परिवार बन्यो ।

आगलागीमा सिन्धु पनि मरिन् । सिन्धु र ओजश्वीको कथा बताएर बाबुराम घोप्टो परे । आँखा पुछे । अनि, ठाडो भएर मुसुक्क हासे । असाध्यै हसिला छन् बाबुराम । यहाँ दिइएको भिडियोमा पनि हेर्नुस् न, आँशु लुकाएर कसरी हास्छन् बाबुराम ।

गोठ बढ्दै जाँदा उनी दोबाटोमा पुगे । एउटा बाटो रोजे गाई, गोबर र दानाघासको जिन्दगी हुन्थ्यो । अर्काे बाटो रोजे अर्थशास्त्रको प्राध्यापन र अनुसन्धान गर्ने जागिरको जिन्दगी हुन्थ्यो । उनले जागिर छोडे, गाई र गोबर रोजे ।

बाबुराम बिहान ३ बजे उठ्थे, राति दस बजेसम्म गोठमै काम गर्थे । तर, परिवार झन बढ्न थाल्यो । गाई ब्याउन लागे ।

गाईको संख्या एक सय २२ पुग्यो ।

बढ्दो परिवारका लागि ठाउँ नपुगेपछि बाबुरामले गोठ सारे । ठाउँ खोज्दै उनी काठमाडौंको सुन्दरीजल पुगे । पचास रोपनी जग्गा भाडामा लिए । त्यहिँ गोठ सारे ।

पहिले आपत, त्यसपछि विपत

सुन्दरीजल सर्नु अघि भक्तपुरमा छँदै आपतको अवस्था आएको थियो । भक्तपुरमै हुँदा भूकम्प आयो । भूकम्पले पूरै समाज अस्तव्यस्त भयो । त्यस्तो बेला दूध किनेर कसले खाने ? दूध फाल्नुपर्यो ।

भूकम्पले अस्तव्यस्त बनेको समाज बिस्तारै समालिन थाल्यो । दूध विक्री बढ्न थाल्यो । गोठ र व्यापार पूरानै अवस्थामा आउन थाल्यो । तर….

तर फेरि वज्रपात भयो । भारतले नेपाललाई नाकावन्दी लगाइदियो । व्यापार व्यवसाय चौपट भयो । दानाको भाउ आकास्सियो ।

गाई विरामी भएर घाटा लाग्यो, भूकम्पका कारण घाटा लाग्यो, नाकावन्दीले पनि घाटा नै लगायो । जति नै समस्या परे पनि बाबुरामले गाईहरुसँग दुख देखाएनन् । दानापानी र घास खुवाइरहे । हरेक गाईलाई माया र स्नेह दिए । उनले प्रत्येक गाईको नाम राखेका थिए । हरेकलाई नामले बोलाएर माया गर्थे, बोलाउँदा गाईले स्नेहपूर्वक बाबुरामलाई पुलुक्क हेर्थे । यसरी हेर्थे, मानौं उनीहरु भनिरहेका छन्, ‘बाबुराम, हामीलाई पाल्न तिमीलाई कति समस्या भयो है ?’

भूकम्पमा बाबुराम हारेनन्, नाकावन्दीमा पनि हारेनन् । समस्यालाई जित्दै ०७३ फागुनमा सुन्दरीजल सरेका थिए । त्यहाँ सरेको ६ महिना नपुग्दै गोठै आगलागी भएर प्रिय गाईहरु मारिँदा उनले हारे । अचेत भए । आँशु नै आँशुमा डुबे । परिवारका सबै सदस्य गुम्दा मानिसलाई कस्तो हुन्छ ? बाबुरामलाई त्यस्तै भयो ।

यसरी भयो काजक्रिया

गाई जलेको ह्रदयविदारक घटनाले कसको मन रोएन ? उनको गोठमा मृत गाईहरुलाई श्रद्धान्जली दिन ठूलो संख्यामा मानिसहरु आउन थाले ।

विश्व हिन्दु महासंघ, ओमकार सेवा समिति, पशुपति विकास कोष लगायतका धार्मिक संघ संस्थाका मानिसहरु आए । बौद्ध लामाहरु पनि आए । विभिन्न एनजीओका मानिस आए । घाइते गाईको उपचारमा धेरैले सहयोग गरे । गोठमा सबै मिलेर स्वस्तीशान्ति, होम यज्ञ, गीता पाठ, रुद्री गरे । सवाल गौमाताको थियो । घटनाको १२ औं दिनमा ठूला पुरोहितहरुको प्रत्यक्ष संलग्नतामा गाईको विधिपूर्वक काजक्रिया सकियो ।

अब बाबुराम एक्लै परे । उनलाई सम्झाउने कोही थिएनन्, श्रीमती पनि आँशुमा डुबेकी थिइन् । छोरी ओजश्वी खोई सिन्धु भन्दै खोज्थिन् । बाबुरामले आँशुमा डुबेर मर्ने होइन, आँशुकै सागरमा पौडिएर पार लाग्ने निश्चय गरे ।

 

एउटा परिवारको पुर्नजीवन

यो ह्रदयविदारक कथामा अब खुसी हुने पालो आएको छ ।

घाइते दसवटा गाईको औषधी र स्याहारसुसार जारी राख्दै उनले गाई थप्न थाले । गोठको पुर्ननिर्माण थाले ।

अब पाठकहरुको मन प्रशन्न हुने एउटा वाक्य लेखौं, ‘अहिले उनको गोठ एकसय नौ वटा गाईको परिवार भएको छ ।’

बाबुरामलाई धेरैले उधारोमा गाई दिए, धेरैले ऋण दिए, विभिन्न कम्पनीहरुले उधारोमा दाना दिए । सबैले सहयोग गरे, स्थानीय सुन्दरीजलवासीले त झनै ठूलो सहयोग गरेको र उनीहरुको गुण तिरेर नसकिने बताउँछन् बाबुराम ।

अहा, एकसय नौवटा गाई ।

चिहान बनेको त्यो गोठ अहिले उज्यालो भएको छ । करिब एक दर्जन गोठालाहरु गाईको सेवामा तल्लिन छन् । बाबुराम बिहान तीनबजे नै उठेर गोठमा पस्छन् । गाईले बाँबाँ गरेर कराएको आवाजले गोठ गुन्जायमान भइरहेछ । गोबर र घासको सुगन्ध सुन्दरीजलको मन्द हावामा मिसिँदैछ ।

अहिले ६५ वटा दुहुना गाई छन् ।

अब केही दिनमा अरु कैयन गाई ब्याउने छन् । त्यसपछि बाछाबाछी बुर्कुसी मारेर गोठमा खेल्नेछन्, माऊको थुन चुस्नेछन् । ओजश्वीले पनि बाछाबाछीलाई खेलाउने छिन् । अनि, यो परिवार अझ सुन्दर हुनेछ, अझ खुसी हुनेछ ।

अँ, बाछाबाछी थपिएपछि बाबुरामलाई अर्काे एउटा समस्या आइलाग्नेछ । थपिएका बाछाबाछीको नाम के राख्ने ?

अब बाबुराम र उनको गोठलाई कुनै समस्या नपरोस् भनी प्रार्थना गरौं तर एउटा समस्याले चाहिँ कहिल्यै साथ नछाडोस् भनी कामना गरौं ।

त्यो समस्या हो, परिवार बढेर बाछाबाछीको नाम खोजिरहनुपर्ने समस्या निरन्तर परिरहोस्, बढिरहोस् ।

 हाम्रोकथा अनलाइनबाट

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला