फुच्चे रुख अर्थात् बोनसाईले दिन्छ बुढेसकालको पेन्शन

फुच्चे रुख अर्थात् बोनसाईले दिन्छ बुढेसकालको पेन्शन

सुशीला सापकोटाले पिपलको एउटा विरुवा ४० हजार रुपैयाँमा बेचिन् । जीतबहादुर खड्काले बोगनबेलीको एउटा विरुवा ५२ हजार रुपैयाँमा बेचे ।

सुशीला र जीतबहादुर दुवैजना राजधानीमा फूल नर्सरी चलाउँछन् । काठमाडौं नयाँ बानेश्वरमा रोजडेल नर्सरी चलाउने प्रकाश राई एउटा विरुवाको १५ देखि २० हजार रुपैयाँमा बेच्छन् ।

हजारौं रुपैयाँ मूल्य पर्ने यी कस्ता विरुवा हुन् ? यी विरुवा होइनन्, रुख हुन् । गमलाका फूलको बोटभन्दा धेरै सानो हुन्छ यी रुख । अर्थात्, यी हुन् बोनसाई ।

ठूलाठूला रुखका विरुवालाई सानो प्लेटमा नियन्त्रित रुपमा हुर्काएर बनाइन्छ बोनसाई ।

सानो प्लेटमा एउटा विरुवा । आकारले विरुवा देखिए पनि बुढो रुखजस्तो देखिन्छ । र, रुखको उमेर– दशौं वर्ष । यी बाउन्ने रुखलाई भनिन्छ बोनसाई ।

दुई हजार वर्ष अघि नै चीनमा ससाना ल्याडस्केप गार्डेन (बगैँचा) बनाइएको इतिहास छ । एउटा कोठा आकारको तथा त्योभन्दा सानो बगैंचा ल्याण्डस्केप गार्डेन बनाउन रुखविरुवा पनि सानै हुनुपर्यो । त्यसपछि सुरु भयो बोनसाई बनाउने चलन ।

तर, नेपालमा भने बोनसाई बनाउने चलन पौराणिक कालबाटै बोनसाई सुरु भएको मान्न सकिन्छ । गमलामा ‘बर–पीपल’ रोपेर त्यसको आकार नियन्त्रित गरेर सानै रुपमा राखिरहने चलन धेरै पूराना हो ।

तर, आधुनिक बोनसाई बनाउने विधिप्रविधि विकासको श्रेय जापानलाई जान्छ । जापानबाटै बोनसाई प्रविधि विश्वभरी फैलिएको मानिन्छ ।

ठूला रुखका विरुवालाई सानो रुपमा बुढो रुख जस्तै बनाएर राखिनु नै बोनसाईको विशेषता हो ।

खासगरी अमिलो प्रजातिका फलफूल तथा वर र पिपलका बोनसाई आकर्षक देखिन्छ ।

 

सल्ला प्रजातिका रुखको बोनसाई पनि आकर्षक हुन्छ । बोगनबेली फूलको बोनसाई पनि आकर्षक हुन्छ । बगनबेलीको बोनसाई फूल्दा असाध्यै सुन्दर देखिन्छ ।

एकै शब्दमा भन्न पर्दा बाउन्ने या पुड्को रुख नै बोनसाई हो ।

काठमाडौंका फूल नर्सरीहरुले अहिले बोनसाईलाई उच्च प्राथमिकता दिइरहेका छन् । किनभने माग बढिरहेको छ । केही वर्ष अघिसम्म बोनसाईको यति धेरै माग थिएन । अहिले माग बढेपछि चीनबाट समेत आयात गरिन थालेको व्यवसायीहरु बताउँछन् ।

वृक्षको विरुवालाई नियन्त्रित रुपमा हुर्काउनुपर्ने भएकाले बोनसाई तयार पार्न धैर्य र सीप चाहिन्छ । पानी कति हाल्ने, मल कति हाल्ने, घाममा कति राख्ने अनि छायाँमा कति राख्ने भन्ने ज्ञान पढेर पनि लिन सकिन्छ, तर, अनुभव नै बोनसाईका लागि मुख्य कुरा हो ।

बोनसाई तयार पार्दा विरुवालाई बढ्न दिइँदैन । उचाई बढ्न नदिँदैमा बोनसाई तयार हुँदैन । आकारमा सानो भए पनि त्यो ठूलो रुखको स्वरुपको देखिनुपर्छ । यसका लागि विभिन्न किसिमका तारले बाँधेर त्यसका हाँगाविगालाई कतातिर बढाउने भनेर नियन्त्रित गर्नुपर्ने हुन्छ ।

 

अर्थात्, आफूले सानो प्लेटमा रोपेको विरुवा पाँचसात वर्षमा दुरुस्तै रुख बन्नुपर्छ । तब बन्छ आकर्षक बोनसाई ।

प्रकाश राईका अनुसार राजधानीमा बोनसाईको माग अत्याधिक छ । उनले दुई दशकदेखि बोनसाई बनाइरहेका छन् । उनका अनुसार विदेशबाट आयातित भन्दा स्वदेशी बोनसाई नै पारखी ग्राहकको पहिलो रोजाई भएको छ ।

सुशीला भन्छिन् –‘मैले चालीस हजार रुपैयाँमा बेचेको पिपलको बोनसाई १० वर्षको थियो ।’

ललितपुरको सातदोबाटोका दिनेश राईले स्वामी, पिपल, एजेलिया, बोगनबेलीको बोनसाई घरमा राखेका छन् । स्वामीको बोनसाई उनले ३५ हजार रुपैयाँमा पाँच वर्ष अघि किनेका हुन् ।

जति पूरानो भयो उत्ति नै मूल्यवान र महंगो हुन्छ बोनसाई ।

 

केहीबर्ष अघि जापानमा भएको अन्तराष्ट्रिय बोनसाई सम्मेलनमा राखिएको एउटा बोनसाईको मूल्य १.३ मिलियन डलर अर्थात् करिब एक करोड तीस लाख रुपैयाँ राखिएको थियो ।

विश्वमा आठसय बर्ष भन्दा धरै उमेरका बोनसाई छन् । जापानमा सात पुस्ताले स्याहारेको चारसय बर्ष पुरानो बोनसाई पनि छ ।

नेपालमा पनि बेलाबेलामा बोनसाई प्रदर्शनी हुन थालेको छ । फ्लोरीकल्चर एशोसियसन नेपाल(फ्यान)का अनुसार नेपालमा पनि बोनसाईको व्यापार बढ्न थालेको छ । एउटा बोनसाई एक लाख रुपैयाँ सम्ममा विक्री भएको छ ।

फूल व्यवसायीहरुले अहिले बोनसाईमा राम्रै लगानी गरिरहेका छन् । एउटा बोनसाई तयार हुन वर्षाैैं लाग्छ तैपनि बनाउँछन् । किन ? व्यवसायीहरु भन्छन्– बोनसाईले हामीलाई बुढेसकालमा पेन्शन दिन्छ । अर्थात्, अहिले मेहेनत गरेर बोनसाई तयार गर्दै भयो भने बुढेसकालमा महंगो मूल्यमा बेच्न सकिन्छ । हाम्रो कथा अनलाइनबाट

प्रतिकृया दिनुहोस

मौसम बदलीसँगै चिसो बढ्यो

भाइटीकाको उत्तम साइत कात्तिक १२ गते

पूर्व राजा ज्ञानेन्द्रलाई चुनाव लडन

महरालाई तीन दिन हिरासतमै राख्न अनुमति

दुर्गा भवानीको पूजा आराधना गरी आज महाअष्टमी

दशैंको सातौं दिन आज फूलपाती

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला