गर्ने हो सुन फलाउने खेती ?

गर्ने हो सुन फलाउने खेती ?
लक्ष्मी गौतम, पाँचथर २०७४ माघ २९ गते ,

एउटा यस्तो कृषि बाली जसको मूल्य किलोको दुई हजार पाँच सय पर्न सक्छ । यसलाई खोल्साका सुन भन्छन् । बालीको नाम हो अलैंची । अलैंचीको पर्यायवाची नाम बनेको छ ‘खोल्साको सुन’ । अलैंची खेती गरेर मालामाल हुनेहरु पूर्वी नेपालमा हजारौं छन् ।

त्यति महंगो छ, अनि कृषक मालामाल हुने नै भए ।

तर, अब खोल्साको सुन मात्र रहेन अलैंची, पाखाको सुन पनि बनेको छ । पूर्वी नेपालको सबै पहाडी जिल्ला, मध्य र पश्चिम नेपालका केही पहाडी जिल्लामा अलैंची खेती भइरहेको छ । आम रुपमा पाइने तथा खेती गरिएको सबैभन्दा महंगो कृषि बाली अलैंची नै हुनुपर्छ ।

अलैंची खेतीले मानिसको जीवन कति फेरेको छ भन्ने अनेक उदाहरण छन् । तीमध्ये यहाँ हामी पदमप्रसाद रिजाललाई प्रस्तुत गर्दैछौं ।

पढिएन तैपनि केही गरियो

पाँचथरका चर्चित अलैंची किसान हुन् पदम । पाँचथरको फालेलुङ गाँउ पालिका वडा नम्बर का हुन् उनी । ०२२ सालमा जन्मिएका पदमलाई जागिर खाएर केही गरौंला भन्ने थियो तर पढ्नै सकेनन् । कखरा नै ढिलो उमेरमा सिके । गरिबीले पढाई अगाडि बढाउन सकेनन् । प्रवेशिका पास गरेर त्रिभुवन विश्वविद्यालय पढौंला भन्ने सपना थियो तर त्रिभुवन विश्वविद्यालय होइन दस कक्षा पढेपछि जीवन विश्वविद्यालयमा प्रवेश गरे ।

पहिलो संघर्ष थियो गरिबीसँग । गरिबीसँग संघर्ष गर्ने प्रचलित उपाय थियो पढेर ठूलो मानिस बन्ने । त्यो नसकेपछि अर्काे उपाय थियो पुरोहित बन्ने । आफन्त तथा साथीभाई पुरोहित बन्न संस्कृत पढ्न गए । कोही झापा गए, कोही भारतको बनारस गए । तर, पदमलाई त्यो सौभाग्य पनि जुरेन ।

उनको हातमा थियो माटो । त्यही माटोबाट बाटो बनाउन सके जीवन चल्छ नत्र गाह्रो हुन्छ भन्ने देखे । माटो अर्थात् खेती गर्नुको विकल्प थिएन । तर, जति नै मेहेनत गरेर खेती गरे पनि निर्वाह गर्नै गाह्रो ।

त्यसपछि उनले थाले अलैंची खेती । खोल्सामा, पानी भएको ठाउँमा मात्र अलैंची खेती हुन्छ भनिन्थ्यो । उनले पाखामा रोपे । पाखामा धेरै रुख थियो, रुखले छहारीको काम गर्छ, अलैंची कसो नहोला त भनेर रोपे ।

थोरै झन्झटिलो हुँदैन अलैंची रोप्ने काम । महंगो पनि उस्तै । अलैंची रोप्न विशेष सीप पनि चाहिन्छ । तर, केही न केही नगरी नहुने अवस्थामा थिए । अलैंचीमा लागे ।

भन्छन् “पहिले कालीझार उम्रेर बाँझिएको पाखो जमिनमा अलैंचीका बेर्ना रोप्दा पागल हुन लाग्यो भन्थे गाउँलेहरु ।”

अलैंची फल्छ कि फल्दैन, डुब्छु कि उक्सिन्छु भनेर निकै तनावमा परे । ०५२ सालको कुरा हो यो ।

अलैंचीको विरुवा हेर्दै सुन्दर भविष्यको कल्पना गर्थे । अलैंची खेती भएन भने परिवार कसरी पाल्ने ? चिन्ताको महासागरमा डुबेका थिए ।

गज्जब भयो । अलैंची हल्हलाएर बढ्न थाल्यो । त्यसरी अलैंची सप्लाएको देखेर गाउँले पनि चकित हुन थाले । पानीले मात्र होइन पसिनाले समेत सिंचाई गरिरहेका थिए पदम । अनि, नसप्लाओस् कसरी ?

अलैंची हुर्कंदै गयो । पाखो बारीमा लगाइएको अलैंचीमा पदमको भविष्य निहित थियो । अलैंची हुर्किए पनि फल्छ कि फल्दैन ? चिन्तै चिन्ता । अरु बालीजस्तो अलैंची एकै वर्षमा फल्दैन । दोस्रो वर्षदेखि अलिअलि फल्न थाल्छ र तेस्रो वर्षबाट पूरै फल्न थाल्छ । अलैंची अरु बालीजस्तो टुप्पामा नभएर फेदमा फल्छ ।

अलैंचीको बोटको फेद कोट्याएर हेरिरहन्थे पदम ।

फल्यो ! फल्यो !! अलैंची फल्यो ! अलैंची होइन पदमको पसिना फल्न थालेको थियो । बोटको फेदमा अलैंचीको झुप्पा नभएर पदमको सुन्दर भविष्य फल्न थाल्यो । कमाल भयो ।

पदम अलैंची बेच्न थाले । अलैंचीको भाऊ सुनजस्तै उतार चढाव भइरहन्छ । सुनमा केही सय रुपैयाँको मात्र हुन्छ तर बारीमा फल्ने यो सुनको भाउमा जति उतार चढाव नेपालमा अरु कुनै वस्तुको हुँदैन । कहिले सात सय रुपैयाँ किलोमा पनि झर्छ ।

भाउ बढेको बेला अलैंची बेच्ने र घटेको बेला थन्क्याएर राख्न थाले । पदमको उद्यम देखेर गाउँले पनि चकित भए ।

‘राम्रो आम्दानी हुन थालेपछि व्यवसायिक रुपमै अलैँची खेतीमा होमिएँ’ पदम भन्छन् । त्यसपछि उनले खेती विस्तार गर्दै लगे । आम्दानी बढाउँदै लगे । अहिले ४० रोपनीमा खेती गरिरहेछन् ।

सबै खर्च कटाएर अलैँचीबाट वार्षिक सजिलै तीनचार लाख रुपैयाँ वचत गरिरहेका छन् । दुईजना छोरालाई पढाइरहेका छन् । मजासँग परिवार पालेका छन् अनि राम्रैसँग सम्पत्ति जोडेका छन् ।

उनलाई अलैँची खेतीका लागि जिल्ला कृषि विकास कार्यालय पाँचथरले पाइप, बिषादी, पुस्तक, स्पे्र मेसिन, नर्सरीका लागि जाली र बीउ लगायतको सहयोग दिएको छ । र, तालिम पनि दिएको छ ।

परम्परागत नगदे बालीमा सर्वाेत्तम खेती अलैंचीलाई मानिन्छ । परम्परागत तरिकाले खेति नगरेर अलिकति अक्कल लगायो, तालिम लियो र नयाँ तरिका सिक्यो भने सुनकै खेती सरह हुन्छ अलैंची खेती । खोल्सा बाहेक अन्यत्र रोप्न सकिने अलैंचीको प्रजाति र प्रविधिको पनि विकास भएको छ । अलैंची खेतीको अर्काे विशेषता के भने यसमा दिनभरी खटिरहन पर्दैन । अरु खेती जस्तै समय समयमा काम गरे पुग्छ र बाँकी समयमा अन्य केही उद्यम गर्न पनि सकिन्छ ।

सुन खेती गर्ने हो कि ? ल है विचार गरौं !  हाम्रो कथा अनलाइनबाट

प्रतिकृया दिनुहोस

२५ गतेको संसद बैठक चल्छ, प्रधानमन्त्रीले

इन्द्रजात्रा पर्व मनाइँदै

मुटुको परीक्षण गर्न प्रधानमन्त्री

यस वर्षको दशैं असोज २१ गते, टिकाको

‘प्रज्ञाप्रतिष्ठानले बिर्सियो संस्थापक

आज ऋषिपञ्चमी : सप्त ऋषिको पूजा आराधना

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला