मङ्सिर ५, काठमाडौं । नेपाली अर्थतन्त्रका लागि बैदेशिक व्यापार घाटा न्यूनीकरण निकै चुनौती देखिएको छ । सधै वर्ष झै वढने गरेको व्यापार घाटा यो पल्ट पनि त्यही दरमा वढेको देखिन्छ । चालू आवको तीन महीनाको आर्थिक तथा वित्तीय अवस्थाको समिक्षा गर्दै राष्ट्र बैङ्कले २ खर्ब ३७ अर्ब ४४ करोड व्यापार घाटा भएको बताएको छ । यो अवधिमा कुल वस्तु व्यापार घाटा १७ दशमलव ७ प्रतिशतले बढेर राष्ट्र बैंकको भनाइ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ७७ दशमलव ५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात ७ दशमलव ९ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ८ दशमलव ६ प्रतिशत रहेको राष्ट्र बैङ्कले बताएको छ । पशु आहार, धागो, वनस्पति घ्यू, पिना, तयारी पोशाकलगायतका वस्तुको नेपालले सबैभन्दा बढी निर्यात गरेको देखिन्छ । तर, निर्यात बढाउन सकिने जुस, अलैंची, जि। आइ पाइप, ऊनी, गलैँचा, पोलिस्टर धागोलगायतका बस्तुहरुको निर्यात घटेको छ । निर्यात घटेको वस्तुको बारेमा अनुसन्धान गरी त्यस्ता बस्तुहरको उत्पादन, प्रशोधन बढाउने र नीतिगत रुपमा कुनै निर्णय गर्नुपर्ने भएमा सरकारले निर्णय गरेर निर्यातमा ध्यान दिनु जरुरी छ ।
नेपालमा हाल सबैभन्दा बढी पेट्रोलियम पदार्थ, सुन, हवाईजहाजका उपकरणलगायतका साधन तथा पाटपूर्जा, सिमेण्ट आदिको आयात बढिरहेको पाइन्छ । आयात हुने कृषिजन्य उपकरण, रासायनिक मल, सेनिटेरिवेयर, विद्युतीय सामान, खाने तेललगायतका वस्तुहरुको आयात समीक्षा अवधिमा घटेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।
भारतबाट धेरै आयात
समिक्षा अवधिमा कुल वस्तु निर्यात ७ दशमलव ९ प्रतिशतले वृद्धि भई रू. २० अर्ब ४३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १२ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारत तर्फ २७ दशमलव ७ प्रतिशत र अन्य मुलुक तर्फ १३ दशमलव १ प्रतिशतले निर्यात बढेको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात १६ दशमलव ६ प्रतिशत बढेर रू। २ खर्ब ५७ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६९ दशमलव १ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट १७ दशमलव ७, चीनबाट ९ दशमलव ५ र अन्य मुलुकबाट १९ दशमलव ५ प्रतिशतले आयात बढेको छ ।
भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार र श्री कृष्ण भन्सार नाकाहरुबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरुबाट निर्यात वृद्धि भएको छ । त्यसैगरी आयात तर्फ समिक्षा अवधिमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय र कन्चनपुर भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
प्रकाशित ६ मङ्गसिर २0७४ , बुधबार | 2017-11-22 10:52:22
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार