बसको यात्राः बुढानीलकण्ठ–लगनखेल

बसको यात्राः बुढानीलकण्ठ–लगनखेल

देवेन्द्रप्रताप शाह,

आज बिहान नियमित वाकमा निस्किए देखि नै बुढानीलकण्ठबाट लगनखेल कसरी जाने भन्ने प्रश्न मनमा आइरहेको छ । लगनखेलस्थित भीएफएस ग्लोबल नेपालको अफिसमा जानु पर्ने छ ।

हिजो त्यहाँबाट पासपोर्ट लिन बोलावट आएको छ । स्थानीय युनिभर्सल कन्सल्ट्यान्सीको सहयोगमा क्यानडाको भिजिटिङ भिषाका लागि १५ दिन अघि निवेदन दिएको थिएँ । मेरो निवेदनलाई सो अफिसले दिल्लीस्थित क्यानेडियन उच्च आयोगमा पठाएको थाहा थियो । केही बर्ष अगाडि युकेको भिषाका लागि निवेदन दिँदा यो अफिस नक्सालमा थियो । बुढानीलकण्ठ बस्ने मलाई नक्सालबाट लगनखेल सर्दा गाह्रो हुने नै भयो । अर्को कुरा, पासपोर्ट लिन बोलाउँदा भिसा पाइएको वा नपाइएको थाहा हुँदैन । अनि यहीँबाट शुरु हुन्छ कौतुहुलता र तनाव । अलिकति हतार पनि हुन्छ । पासपोर्ट लिन खाना खाएर  जाने निश्चय गरेँ ।

हप्ता दिन  पुगेको छैन, एउटा बैंकको सिईओबाट अवकास लिएको छु । अफिसको गाडी र ड्राइभर छैन । जागीर गएकोमा चिन्ता नभए पनि यातायातको असुविधाले  नराम्रोसँग दुःख दिन थालेको छ । सुविधै सुविधामा बाँच्नु वास्तवमै असल जीवन हैन रहेछ । पासपोर्ट लिन जाने कुनै ठुलो काम त होइन । तर, सुविधामा बस्ने रोग लागेकोले होला, मलाई भने महाभारत भइराखेको छ । मर्निङ वाक गर्दै बुढानीलकण्ठबाट लगनखेल जानका कुन साधनबाट जाने होला भनेर सोच्न थालेँ ।

घरमा थोत्रो कार  छ । तर, हाँक्ने ड्राइभर छैन । चार वर्ष अरुले हाँकेको गाडी चढ्ने बानी पर्‍यो । अब गाडी हाँक्ने आत्मबिश्वास हराएछ, शहरमा पार्किङको झञ्झट उस्तै छ । फेरि गैर जिम्मेवारीपूर्ण हँकाइको थलो हो  काठमाडौंको सडक । पहिलो विकल्प यही थियो जसमा मैले टिक लगाउन सकिन । दोश्रो विकल्प हो, ट्याक्सी । तर, काठमाडौमा ट्याक्सी जो पायो उसले चढ्न सक्दैन । रित्तो ट्याक्सीको नजिक उभिएर ड्राइभरलाई पहिले त ‘खाली हो ?’ भनेर सोध्नु पर्छ ।

सिधा जवाफ आउँदैन, आडम्बरपूर्ण तरिकाले अन्त तिर हेर्दै ड्राइभरले सोध्छ, ‘कहाँ जाने ?’ । मानौ कहीँ जानको लागि मात्र खाली छ, अन्त जान खाली छैन ट्याक्सी ।

म भन्नेछु, ‘लगनखेल’ । यसपछि उसले जुन प्रश्न सोध्ने छ, त्यसको जवाफ दिन मलाई गाह्रो हुनेछ ।

भन्छ, ‘कति दिनुहुन्छ?’ ।

मिटरमा भन्ने कुरै छैन । अनि शुरू गर्नुपर्छ बार्गेनिङ जुन मलाई  निकै असजिलो  लाग्छ । त्यसैले अर्जेन्ट नपरीकन ट्याक्सी चढ्दिन । नत्र पाँच सातसय रुपैयाँ साथमा नहुने भन्ने हुँदैन ।

तेश्रो विकल्प टुटल छ,जसले मोटरसाइकलमा सजिलै गन्तव्यमा पुर्‍याइदिन्छ, सुनेको यही हो । तर अहिलेसम्म उपयोग गरेको छैन । क्यानडा जानु अघि भाञ्जा तपन हमालले मेरो मोबाइलमा टुटुल एप्स डाउनलोड गरेर चलाउने तरिका पनि सिकाएका थिए। । त्यसैबाट टुटलको दर – बुढानीलकण्ठबाट लगनखेल कति रहेछ भनेर हेरेँ । रू. ३५४ देखायो । एकतर्फी मोटरबाइकको भाडा अलि बढी नै लाग्यो । त्यसैले ‘कन्फर्म बुकिङ’ को बटन दबाइन् ।

चौथो विकल्प हो,  सार्वजनिक बसको यात्रा । दुई ओटा बस चढ्नु पर्ने, बुढानीलकण्ठबाट रत्नपार्क र रत्नपार्कबाट लगनखेल । पहिलो स्टपबाट चढ्दा बसमा सिट पाइन्छ, रत्नपार्कबाट लगनखेल जाने बसको अवस्था थाहा छैन । बस समात्न दौडादौडी गर्न पर्ने हो कि ? त्यस्तो म कहिलेकाहीँ अफिसको गाडिमा घर फर्किदा देख्ने गर्थेँ । अलि पहिले एउटा प्रसङ्गमा बिहान मर्निङवाकमा ब्रह्मदेव सर (स्थानीय मित्र) ले ‘साझा बस सिधै लगनखेल जान्छ’ भनेका सम्झिएँ । तर कुन कुन बेलामा साझा बस हिड्छ भन्ने उनलाई पनि थाहा रहेनछ । मलाई लाग्यो, २–३ घण्टामा एउटा आउला, थोरै छ साझा बस । घरबाट हिडेको समय नमिलेर साझा बसको लागि दुई घण्टा कुर्न पर्ने हुन सक्छ । साझा हैन, अरु बसमा यात्रा गर्ने विचार गरेँ ।

खाना खाएर निस्किएँ, घरबाट बाहिर सडकमा, हातमा आइप्याड र तार लिएर । बसमा सिट पाइने निश्चितताले सिनेमा हेर्दै जाने सोचेँ । आइप्याडमा हिन्दी र अंग्रेजी सिनेमाहरु सेभ थिए । कर्ण शाक्यको पार्क भिलेज होटेल नजिकै मेरो घर छ । सडकमा पुगेर दाहिनेतिर हेर्दा बस स्टपमा साझा बस लागिरहेको देखेँ । यो प्लिज्यान्ट सर्प्राइज भयो मलाई । पार्क भिलेज होटेल नजिकै बसेर कुर्ने कि बस स्टपमै गएर साझा चढ्ने भन्ने दोधारमा परें। दुई मिनेटको बाटो हो, फटाफट बस स्टपतिरै लागेँ । यसो गर्दा हिँडाइ पनि हुने, सिट पाइने निश्चित पनि हुने । दोहरो फाइदा लिन किन चुक्ने ?

कोट लाउँदा–लाउँदा थाकेको थिएँ, त्यसैले आज कोट नलाएर निस्किएँ । ड्रेस कोडले बाँधेको बैंकका सिइओको व्यक्तित्वसँग कोटको अन्योन्याश्रित सम्वन्ध छ । तर, लेखकलाई कोट चाहिदैन । साँचो भन्ने हो भने एउटा लेखकको जीवन कोट बिना नै चल्छ । कुनै लेखक रुप र पहिरनबाट हैन, उसको सिर्जनाबाट चिनिन्छ । तर, यथार्थ यो छ कि म लेखक भइसकेको छैन, प्रयासरतसम्म छु । लेखकको लागि पहिलो शर्त हो, जतिसुकै खतरनाक भए पनि सत्यलाई नलुकाई भन्नु । तर, बैंकको व्यबस्थापन गर्न पर्दा कहिलेकाहीँ सत्यलाई लुकाउनु सिइओको बाध्यता हुन सक्छ । जे भए पनि सत्य यो हो आजको दिनमा सामान्य मान्छे भन्दा मेरो अर्को परिचय छैन । सामान्य मान्छेको लागि कोट भन्दा चैत्र महिनामा हल्का ज्याकेट उपयुक्त हो, यसै गरेँ मैले ।

भर्खरै जागीरबाट अवकास लिएकोले होला, कोट नलगाइ हिड्दाको मजा अर्कै भयो । हरेक दिन कोटको पहिरनले मेरो खास एउटा आइडेन्टिटी बनेको थियो, लेखनाथको दारी जस्तो । दारी नभएको कवि शिरोमणीको फोटो कतै देखियो भने चिनिन्छ र ? कोट नलगाउँदा आइडेन्टिटीको संकट भए पनि आफ्नो इमेजमा भने फरक नपर्ला भन्ने आंकलन गरेँ । एउटा कुरा भने छ, बैंकको सिइओको जबमा एक खाले तनाव त थियो, जसलाई मैले न्यून तहमा राख्ने प्रयास गरेँ । तर, कम्फोर्ट जोनमा बस्ने बानि परेकालाई कहीँ जान पर्दा कसरी कुन साधनमा जाने भन्ने सानो चिन्ता चाहिँ हुन्छ । सानै काममा शहर गएपछि दिन भर जान्छ । समयको यो बर्बादी अर्को चिन्ता हो ।

म साझा बस चढेँ । सिट पाएँ । बस गुड्न थाल्यो । तर एकै छिनमा रोक्कियो । यसपछि छिनछिनमा रोक्किन थाल्यो, यसको कुनै निश्चित स्टप त छैन । सडक सबै स्टपै स्टप त हुन् नि । हात्तिगौडाबाट एक्कासी ३०/३५ बर्षकी महिला बसमा उक्लिन् र मसँगै बसिन् ढसमस्स । उनको अनुहारमा महसुरपन देखिन्थ्यो, कुनै राजनीतिक दलको जुझारु कार्यकर्ता हुन् कि ? यी महिला त्यसरी सँगै बस्ना साथ एक प्रकारको असजिलो लागेर आयो मलाई ।

‘मि टु’ को आन्दोलन संसार भरी चलिरहेछ, नेपाल पनि त्यसको प्रभाव पसिसक्यो । कुनै महिलासँग नजिक हुँदा विगतको विपरित असजिलो मान्नु पर्ने युगको प्रारम्भ भएको छ । बसमा मसँगको सामिप्यताबाट उनीले असजिलो मानिन् भने मेरो राम्रै जात्रा शुरु हुन सक्छ । आजसम्म जुन इज्जत कमाएको ठानेको छु, त्यो त क्षणभरमै खरानी हुनेछ । यसका अतिरिक्त के के हुने हो, निश्चित छैन ।

संसारकै महान इन्भेष्टर बर्कशायर हाथवेका अध्यक्ड तथा प्रमुख कार्यकारी अधिकृत ८८ बर्षीय वारेन बफेटले पनि भनेका छन्,‘प्रतिष्ठा कमाउन २० बर्ष लाग्छ, तर त्यसलाई खत्तम पार्न एक मिनेट नै काफी हुन्छ’ । यस्तै अप्रिल ४, २०१९ को न्यूयोर्क टाइम्समा एउटा न्युज आइटेम थियो– अमेरिकी पूर्वउपराष्ट्रपति जोय बाइदेनको महिलाको कुममा छुने बानीका बारेमा । महिलासँग हग गर्दा उनले आवश्यक भन्दा अलिकति बढी समय पनि लगाउँने गरेका रहेछन् । यसमा विवाद भयो । यसले २०२० को अमेरिकी राष्ट्रपतिय चुनावमा बाइदेनको सभावित उम्मेदवारीलाई संकटमा पारेको छ । यही न्युजले म झसङ्ग भएँ । मि टु को युग छ, केही न केहीको चिजले भयंकर रुप धारण गर्न बेर छैन । त्यसैले सकभर भर्खरै बस चढेकी यी महिलालाई नछोइयोस् भनेर सतर्क भएँ ।

सतर्कता अपनाउँदै खोलेँ आइप्याड । लाग्यो, सिनेमामा रमाउन सकियो भने महिलातिर ध्यान पनि जादैन, मेरो साझा बस यात्रा अझै अर्थपूर्ण पनि हुनेछ । तर बसभित्र एकनास चलिरहेको हल्लाले सिनेमाको संवाद बुझिएन । हल्ला चाहिँ प्रष्ट सुनियो । ती हल्लामा बिभिन्न शब्दहरुको उपयोग भएका थिए । तर अर्थमा भने उही हाम्रो नेपालीपन थियो, आफु ठिक र अरु सबै गलत ठान्ने प्रवृति । वेकारका चिजमा ध्यान नदिने विचारले आइप्याडको तार कानमा जोडेँ । तर सिनेमाको हैन, बसभित्रका यात्रुहरुकै संवाद सुनिन छाडेन । अनि तार कानबाट झिकेँ र आइपयाड बन्द गरेँ ।

देशको पब्लिक ट्रान्सपोर्ट सिष्टममा ध्यान गयो मेरो । बसभित्र अलिकति शान्ति भइदिए हुन्थ्यो भन्ने लाग्यो । तर कहाँ ? बुढानीलकण्ठबाट मिनेट मिनेटमा बस हिडिरहन्छन् । रत्नपार्क, चावेल, कलंकी, लगनखेल, अरु गन्तव्य पनि छन् । यति हुँदा पनि बिचरा यात्रुहरु सिट पाउँदैनन्, होचो माइक्रोबसमा उभिन्छन् र कुप्रिन्छन् । भित्तामै पुगिसक्दा पनि कुप्रिएकै यात्रुलाई ‘पर सर्नुस’ भन्न छाड्दैन कन्डक्टर । दुई जनाको सिटमा तीन, तीन जनाको सिटमा चार जना राख्ने त सामान्य भएको छ । यसले आडम्बरमा बाँच्ने म जस्ता मध्यम वर्गीयलाई मर्का पारेको छ । कुप्रिएर यात्रा गर्न पनि नसक्ने, निजी गाडी बा ट्याक्सी पनि एफोर्ड गर्न नसक्ने । यति मात्र हैन, बेला बेलामा कन्डक्टरले ‘बुवा’ भनिदिन्छ । यो बुवा शब्द आफ्नै बच्चाले भनेसम्म ठिक लाग्छ, खै किन हो, अरुले भन्दा ठिक लाग्दैन मलाई । ‘अंकल’ ठिक छ । तर आजकल बजारमा ‘बुवा’ भन्ने फेसन आएको छ ।

भनिन्छ, सार्वजनिक यातायातका सात तत्वहरु हुन्छन् जसलाई मानिसले महत्व दिन्छ । ती हुन्, गति, आरामीपन, सुरक्षा, लागत, निवासबाट स्टपसम्मको दूरी, गन्तव्यमा पुग्न लाग्ने समय र मान्छेको व्यवहार । यी विषयलाई सम्बोधन गर्दै पश्चिमी मुलुकका सरकारले सार्वजनिक यातायातको जिम्मा आफै लिन्छन् नोक्सा नै बेहोरेर पनि । नेपाल जस्ता केही मुलुकमा चाहिँ यो नाफाको क्षेत्र बन्यो । जनताको कमजोरी निजी क्षेत्रले नाफा गर्ने केन्द्र भएको छ यहाँ । यातायात मात्र किन ? स्वास्थ्य र शिक्षा पनि नाफाका क्षेत्र छन् यहाँ । यो कति उचित हो, सम्बन्धितले ध्यान दिन भ्याएको छैन वा जानी–जानी ध्यान दिएको छैन ।

अब त पश्चिमतिर ‘उवर’ र ‘लिफ्ट’ जस्ता निजी कम्पनीले पनि जनताकै कारको उपयोगबाट जनतालाई सुलभ यातायात सुविधा दिन थालेका छन् । कुनै अटोमोबाइल स्वामित्वमा नराखिकन जनतालाई यातायातको सुविधा दिने संसारकै सबै भन्दा ठुलो कम्पनी छ उबर । तर हामीकहाँ यस्तै सेवा दिन खोज्ने ‘टुटल’ लाई खारेज गर्ने प्रस्ताव लिएर मन्त्री क्याबिनेट मिटिङमा पुगेको समाचार आउँछ । जुन जनताको भोट लिएर सरकारमा पुग्छन् तिनैको हित विपरित निर्णय गर्न आतुर हुन्छन् हाम्रा नेताहरु । ‘हाम्रा नेता र अधिकारीहरुमा सार्वजनिक सेवाको चेत खुलेको छैन’ भन्नुहुन्थ्यो त्रिचन्द्र कलेजका मेरा एक गुरु । उहाँ थप्नुहुन्थ्यो– केको लागि त्यो पदमा पुगेको भन्ने ज्ञान नहुनु जनप्रतिनिधिको सबैभन्दा ठुलो कमजोरी हो’ । यो २०३४ सालतिरको कुरो हो । चार दशक भइसक्यो । पञ्चायतबाट प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रमा देश प्रवेश गरिसक्यो । तर, बिडम्बना यो कि उनीहरुमा त्यो ‘चेत’ खुलेको छैन । यति त मलाई महसुस छ, सार्वजनिक यातायातमा हुन पर्ने माथिका सात मध्ये धेरै गुणको अभाव छ नेपालमा ।

कुनै शहर भाइब्रान्ट र स्मार्ट बन्नको लागि सार्बजनिक यातायात मेरुदण्ड हो । जनतालाई सुबिधा दिने क्रममा  १९०८ सालमा साधारण मानिसले चढ्ने कारको संसारमा उत्पादन हुन थालेको हो र घोडाद्वारा चलाइने साधनलाई कारले बिस्थापित गरेको हो । सार्वजनिक यातायातको दृष्टिले चीन, सिंगापुर, संयुक्त अरब एमिरेट, नेदरल्याण्ड र स्विजरलैण्ड उत्कृष्ट मानिदा रहेछन् । निकृष्टको तथ्यांक भेटिएन, मेरो विचारमा शायद नेपाल पनि होला ।

संसार कहाँबाट कहाँ पुगिसक्यो, (केवल कार, रेलवे, हवाइजहाज आदि आइसके । पानी जहाज त धेरै पहिलेदेखि नै थियो । समय परिवर्तनशील छ । वाशिंगटन राज्यको सिटल सहरकी हालकी मेयर जेनी दर्कनले भनिछन्, ‘भविष्यको सुन्दर शहर बनाउनका लागि कारमा हाम्रो निर्भरता घटाउँदै जानु पर्छ’ । साँच्चै हो, मेयरको मुलभुत कर्तव्य भनेको शहरलाई सुन्दर बनाउने प्रयास गर्नु हो । जेनीको भनाइको मतलव हो, सुदृढ र सुलभ सार्वजनिक यातायातले नै कारको उपयोग घटाउन सक्छ । सडकमा कार कम गुड्नु भनेको मानव स्वास्थ्य र वातावरणीय मुद्दा पनि हो । के हामी नेपालमा त्यसो गर्न सकौँला ? सुलभ सार्वजनिक यातायातको अभावमा निजी कार र मोटरबाइक सडकमा बढी गुड्छन् । मोटरबाइक र कारको आयात बढेको बढ्यै छ, ब्यापारी नाफा गरेको गर्‍यै छन् । सरकार राजश्वको अंक हेरेर दङ्दास छ । सरकार र व्यापारीको चेपुवामा परेका छन् साधारण जनता ।

हाम्रो काठमाडौ शहरमा साँझ पर्ना साथ जनताको भागदौड शुरु हुन्छ सार्वजनिक यातायात अर्थात बस र टेम्पोको अघिपछि । जनता निर्धक्क त कहिले पनि हुन पाएका छैनन्, सधै बस चढ्ने हतार छ । ६० बर्ष बर्ष पुगिसकेको हाम्रो सार्वजनिक यातायातको इतिहाँस छ, तर अझै समस्या ज्यूँकात्यूँह त नभनुँ, निकै बाँकी नै छन् । सं १९४८ मा पहिलो कार आइपुगेको नेपालमा सार्वजनिक साधनको रुपमा बसको उपयोग भने सं १९५९ मा तुलाधर ब्रदर्सले शुरु गरेका थिए । । काठमाडौमा समयसँगै बढेको जन घनत्वले सार्वजनिक यातायातको साधनको उपयोग उल्कैसँग बढ्यो । तर, सरकारले जिम्मेबारी लिएन र आजको दुष्कर अबस्थामा ल्याइदियो । निजी क्षेत्रले अत्यधिक नाफा कमाउने, सरकारले चलाएमा घाटै मात्र लाग्ने वास्तविकता छ हाम्रो सार्वजनिक यातायातको ।

बस पुल्चोक पुग्यो । थाहा छ, दाहिनेपट्टि साझा प्रकाशनको प्रधान कार्यालय छ, जहाँ म कुनै बेला निर्वाचित संचालक थिएँ । यो धेरै बर्ष अगाडिको कुरा हो, अहिले त त्यहाँका कसैलाई पनि यसको सम्झना नहोला । तर यतिखेर विश्वेस्वरप्रसाद कोइराला र पारिजातका सबै किताबहरु त्यहाँबाट किन्न मन लाग्यो, किनकि यी किताबहरुको प्रकाशक उही हो । किताब पढ्ने मात्र हैन, नेपाली साहित्यका यी दुई हस्तिको तस्बीर आफ्नो घरको भित्तामा टांग्ने विचारमा छु । तर यी दुईको विपरित राजनीतिक विचारधाराबाट एकैताली प्रभावित ठानिएला भन्ने पीरले ढिलो गर्दैछु । म त यी दुईको साहित्यिक रचनाको प्रसंसक हुँ । सुनेको थिएँ – साझाले यी दुईका सबै किताबको भिन्दाभिन्दै संगालो निकालेको छ । यी किताबहरु फेरि पढ्न रहर जागेको छ । बसबाट ओर्लिएर किताब किन्न जान मन लाग्यो । तर लगनखेल त टाढै छ, यस बसलाई छाडेँ भने अर्को बसमा सिट नपाइएला । साझा चाडै आइपुग्दैन, माइक्रोमा कुप्रिएर जान पर्ने डरले ओर्लिन सकिन ।

पुगेँ लगनखेल । संयोग पनि कस्तो । बस स्टपसँगै करिब करिब जोडिएको घरमा भिएफयसको अफिस रहेछ  । बसबाट ओर्लिएर त्यहाँ पुगेँ । क्यानडा, अष्ट्रेलिया, र यूकेको भिसा निवेदन दिने ठाउँ त्यही हो । सिधै क्यानडावाला काउन्टरमा पुगेँ, काउन्टरमा उच्च पहाडी भेगबाट काठमाडौ झरेकी लाग्ने केटी मलाई कुरेर बसेकी झैँ लाग्यो । उनीसँग आफ्नो नाम बताउँदै फुर्तिसाथ पासपोर्ट मागेँ । पासपोर्ट दिने काम त्यति सजिलो नभएको छनक दिँदै उनले मलाई एउटा कम्प्युटर प्रिन्ट (आउट देखाइन् र मसँग त्यस्तै कागज मागिन् । त्यस्तो कागज यही केटीले मलाई पहिले दिएकी सम्झिएँ । मैले उनीसँग त्यो कागज हराएको बताएँ । ‘त्यसो भए पासपोर्ट पाउन सक्नुहुन्न’ केटीले डिक्टेटरियल शैलीमा सिधै घोषणा गरिन् । रिस उठ्यो मलाई, तर गर्ने के ? केटीसँग भनेँ, ‘आफै आएको छु, आइडेन्टिटीको लागि नागरिकता छ । किन त्यो कागज चाहियो ?’ ‘मिल्दैन, त्यो त चाहिन्छ’ उनी आफ्नो भनाइमा अडिग रहिन् । ‘अब के गर्ने त ?’

मेरो रिस घटेको थिएन, तर घटेको जस्तो देखाएँ । ‘निबेदन दिनु पर्छ, त्यसलाई दिल्ली पठाउँछौ, स्वीकृत भएर आएपछि खबर गर्छौ, अनि आउनु होला’ उनले आफ्नो नियम सविस्तार बताइन् । यो त फेरि दुःख पाइने कुरा भयो । अनुरोध गर्दै भनेँ ‘नानी, म टाढाबाट आएको छु, तपाईले आफ्नो अफिसरसँग मलाई भेटाउनोस । कुरा गर्छु, उनले तपाईले जस्तै भने ठिकै छ’ ।

‘अफिसरले भन्ने पनि यही हो, हुँदैन प्लिज’ केटी कठोर भइन् र निवेदन लेख्न कलम र कापी दिइन् ।

अब विकल्प भएन । झगडा गर्ने ? झगडा गरेर के हुन्छ ? हुन्छ त’ भनेर निबेदन दिएर फर्किएँ । फर्किने समय समेत जोड्दा अढाइ घण्टादेखि ३ घण्टाको समय लाग्यो ।

पुनः लगनखेल बसस्टप पुगेँ । बिहान जस्तै बस स्टपमा साझा बस लागिरहेको थियो । यो संजोग हो कि के हो ? सधै यसरी सजिलैसँग साझा बस पाइने त नहोला । उही बस, उही ड्राइभर, उही कन्डक्टर भेटेँ । चिनेको मान्छे भेटे जस्तो भयो । बस चढेँ । कन्डक्टरले आफ्नो यात्रुलाई चिन्यो र सोध्यो–कति चाडै काम सकियो अंकलको ?’

फुक्का हाँसो हाँसे उतिर हेर्दै, केही बोलिन । बुवा नभनेर अंकल भनेकोमा दङ्ग परेँ । पहिलेकै सिट खाली रहेछ, थचक्क त्यसमै बसेँ । ‘कहाँ काम सकिनु ? काम भएन, फेरि आउन पर्ने भयो उही कामको लागि’ यसो भन्न पर्ने थियो कन्डक्टरलाई ।

तैपनि एउटै साझा बस चढेर सुविधापूर्वक बुढानीलकण्ठबाट लगनखेल र लगनखेलबाट बुढानीलकण्ठ पुगेँ,आज यो नै मेरो लागि हर्षको बिषय भयो ।

(नेपाल बैंकको सिईओबाट केही समय अघि अवकाश भएका शाहको फेसबुकबाट)

प्रतिकृया दिनुहोस

ककटेल कृषि नीति आजको आवश्यकता

बसको यात्राः बुढानीलकण्ठ–लगनखेल

प्रवासी मजुदरको आँखामा बजेट

गौतम बुद्ध कसरी ‘भगवान’ भए ?

हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ

प्रधानमन्त्री केपी ओलीको राष्ट्रका

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला