बेलायतबाट सिक्न कति छ कति

      बेलायतबाट सिक्न कति छ कति

विष्णुप्रसाद पन्त, बेलायत संसारकै शक्तिशाली सम्पन्न देश मध्येमा पर्छ । यहाँको चरम आधुनिक विकास, वेशभूषा र रहनसहनलाई नेपाली आँखाले हेर्दा अनौठो लाग्नु स्वभाविक हो । मैले बेलायतबारे पढ्दा, सुन्दा र अनुमान गर्दा जे जस्तो ज्ञान आर्जन गरेको थिए, त्यहाँ पुग्दा निकै फरक र रोमाञ्चक अनुभूति गरेँ । छोटो यात्रामा पनि धेरै अनुभव हासिल गरेँ । बेलायत भ्रमणमा देखेका भोगेका र अनुभव गरेका केही कुरा मनमा मस्तिष्कमा राख्ने प्रयत्न पनि गरेँ । तिनै अनुभूति साट्ने उद्देश्यले यो यात्रा संस्मरण प्रस्तुत गरिएको हो ।

बेलायतको भौगोलिक बनोट प्रायः समथर नै रहेछ । नेपालको जस्ता ठुलठूला, अग्ला पहाड पनि रहेनछ । राम्रो पक्ष के भने बेलायतीहरूले जमीनको आकारलाई बिगार्ने भन्दा यथास्थितिमा उपभोग गर्ने गरेका रहेछन । कुनै पनि भौतिक निर्माण गर्दा सकेसम्म जमीनको स्थितिलाई नबिगार्ने राम्रो प्रयास गर्दा रहेछन् । हाम्रो जस्तो जतासुकै भत्काउने, नयाँ निर्माणका क्रममा ऐतिहासिक महत्वको ख्यालै नगर्ने त्यहाँ हुँदो रहेनछ । यो हामीले पनि सिक्नु पर्ने जस्तो लाग्छ ।

सधैं चावहिल–बौद्ध सडकका खल्डाखुल्डी देख्ने भोग्नेका लागि बेलायतका चिल्ला सडक कसरी व्यवस्थापन गरे होलान भनेर सोच्न बाध्य पार्छ नै । सडकमा ट्राफिक व्यवस्थापन उस्तै । पुलिसहरूको उपस्थिति नदेखिँदा पनि सबै सवारीका साधनहरु स्वतः स्वचालित जस्ता लाग्ने । सडकमा राखेका बत्तीको संकेत लेखिएका चिन्ह र बोर्डहरूको निर्देशनलाई पूर्ण पालना गरेर सबैले आ–आफ्ना सवारी साधन चलाउने गर्दा रहेछन् । हामीलाई सबैतिर पुलिस देख्ने बानी परेकाले यताउता पुलिस देख्न पाइन्छ कि जस्तो लाग्दोरहेछ तर, देखिदँन कतै पनि । सबैतिर सडक अनुशासनबाट दीक्षित भए जस्ता । त्यसले दुर्घटना स्वतः नियन्त्रण हुने रहेछ ।

पुरातात्विक संरक्षणका लागि पनि यो मुलुकले निकै जोडबल गरेको देखिन्छ । बेलायत एउटा पुराना वस्तु र कला संस्कृतिको संरक्षण गर्ने देश पनि  हो जस्तो लाग्यो । सयौं वर्ष पुराना घर, चर्च र सार्वजनिक भवनहरू यथास्थितिमा संरक्षित छन् । भवनहरूमा कुनै आधुनिक वास्नादार रंगरोगन छैन । पुराना मुर्तीहरू शालीकहरू, स्तम्भहरू सहरका चोक–चोकमा सुरक्षित राखिएका छन् । संसारभरका पर्यटक ती सम्पदा हेरेर रमाइरहेका छन् । कोही फोटो लिइरहेका देखिन्थे त कोही त्यहाँ  लेखिएका अक्षरमा आँखा लगाइरहेका थिए ।

वास्तवमा ती सामग्री अर्को पुस्तामा इतिहास हस्तान्तरण गर्ने आधार हुन । यस दृष्टिबाट हेर्दा खोजकर्ताका लागि बेलायत एक संग्रहालय नै रहेछ जस्तो लाग्यो । हामीले पनि  पुराना वस्तुको संरक्षण र ती बारे जानकारी विश्वव्यापी प्रचार गर्न सकेमा मात्र पनि नेपाल छिट्टै समृद्ध बन्नेमा दुइ मत छैन । तर, हाम्रा सम्पदा नासिदै–मासिदै छन, लोभ हुँदैछन, राज्यले सम्पदा संरक्षणलाई महत्व दिएका छैन । आधुनिकताको नाममा अमूल्य सम्पत्ति जसले प्रसस्त आयआर्जन गर्नसक्छ, त्यसको महत्व नबुझेर विनासतर्फ अग्रसर छौ ।

बेलायत घुम्न जाने व्यक्ति प्रायःले स्टोन हेन (क्तयलभ ज्बलनभ०¬¬ भन्ने ठाउँ घुमेकै हुन्छन । त्यो ठाउँ निकै उचाईमा खुला अवस्थामा रहेको छ । फराकिलो चौरको वीचमा ठूलाठुला ढुंगाहरु ढडिएको र त्यसको माथि पनि ठुलाठुला ढुंगहरू तेर्सिएर रहेका देखिन्छन् । ती ढुंगाहरु कसैले राखिएका जस्तो देखिन्छ किनकि केही खम्बा जस्ता ठडिएका छन् र केहि त्यसमाथि तेर्साएर राखिएका छन् ।

देख्दा अचम्म लाग्छ नै तर पनि हामी नेपालीले यस्ता खाले दृष्यहरू नेपालका विभिन्न ठाउँमा देख्ने गरेका छौं । त्यहाँ त्यस ठाउँलाई संरक्षित गरेर वरिपरि फलामको तारले घेरेर, राखेको छ र ठूलो गेट बनाए, राम्रै शुल्क लिएर बस निशुल्क राखिदिएर पर्यटकलाई आकर्षणको बिन्दु बनाइ दिएको छ । त्यहाँ जान लण्डनबाट करिब १ दिनको समय खर्चनु पर्ने हुन्छ अर्थात पर्यटक १ दिन थप बस्नु पर्छ । पर्यटक जति धेरै दिन बस्यो उति धेरै पैसा खर्च गर्दछन् र देशलाई  पनि बढी फाइदा हुन्छ । कुनै पनि पर्यटकीय ठाउँलाई बढी आकर्षक बनाएर भौतिक सुविधायुक्त बनाई आयआर्जन गर्न बेलायतबाट हामीले धेरै सिक्न सकिने अवस्था रहेछ ।

पूँजीवादी अर्थ व्यवस्था भएको देश भएर पनि बेलायतमा साम्यवादका विशेषताहरू प्रसस्त देखिए ।  त्यहाँका आवसीय घरहरू समान आकार प्रकारका हुँदा रहेछन् । विद्यालयको पढाई सबैलाई निःशुल्क । नागरिकलाई निःशुल्क उपचारको व्यवस्था । घर नहुनेका लागि निःशुल्क बसोबास गर्ने व्यवस्था सरकारले मिलाई दिएको छ । 

बेरोजगारी र वृद्धवृद्धालाई खाने बस्न पुग्ने गरि आर्थिक सहयोग भनौ या भत्ताको व्यवस्था सरकारले गरिदिएको छ । आमालाई सुत्केरी बिदा स्वरुप निश्चित पारिश्रमिकसहित १३ महिना बिदा दिने व्यवस्थाका साथै ३ वर्षसम्म बालकलाई पोषण युक्त खानाका लागि रकम उपलब्ध गराइने रहेछ । साथै सरकार जनताको सुरक्षा, कल्याण, सहजता सम्मान जस्ता कार्यप्रति पूर्ण जिम्मेवार छ । यी व्यवस्था भएको देख्दा हामीले आफूलाई कहाँबाट कसरी हेर्ने भन्ने प्रश्न उठ्नु स्वभाविक होइन र ?

बेलायतको घुमाइमा केन्द्रीय सहर देखि गाउँसम्मको सामान्य अध्ययन गर्ने अवसर पाएँ । सहर बाहिरका सडकका पेटीमा मानिसको आवतजावत कम हुने अर्थात पैदल हिड्ने मानिस कम हुने तर सहर र केन्द्रीय बजारहरुमा मानिसको बाक्लै उपस्थिति देखियो । त्यहाँ एकले अर्काेलाई नहुने, छोइ हालेमा सरी भन्ने २ जना कुरा गरिरहेको वा उभिइ रहेको ठाउँबाट क्रस नगर्ने गर्नु पर्दा एक्स क्यूज... भनेर मात्र गर्ने, कसैले बाटो छोडिदियो भने थ्याङक्यू भनेर आदर गर्ने स्वभाव प्राय सबैमा देखियो । मानिसले अरुको सम्मान गर्नसिक्नु पर्छ र एक अर्कामा सहयोगको भावना राख्नु पर्दछ भन्ने कुरा त्यहाँबाट सबैले सिक्नु वेस हुन्छ ।

खास गरेर बेलायतीहरू छिमेकीसँग मिलेर बस्न चाहने सहयोग गर्ने र भेट्दा हात उठाएर मुसुक्क हाँस्ने धेरै भेटे मैले । झगडा गर्ने भन्दा त्यस्तो ठाउँबाट टाढा रहेको स्वभाव छिमेकी धेरै मा देखियो । वास्तवमा बेलायत सरकारले जनताको अभिभावकत्व ग्रहण गरेको देखिन्छ भने जनता पनि सरकारप्रति पूर्ण विश्वासका साथ ढुक्क भएर रहेको आभाष पाइन्छ । एक अर्काप्रति विश्वास हुनु नै विकासको मुख्य कारण हो भन्ने लाग्छ । सरकारले करको माध्यमबाट जनताबाट रकम लिएता पनि जनता सुखी देखिन्छन् किनभने उनीहरूले तिरेको करको लाभ सबैले पाइरहेको अनुभूति गरेका छन् कर तिर्न सबै तत्पर छन् सरकारको कार्यप्रति धेरै चाँसो राख्ने गरेको, टिकाटिप्पणी गर्ने गरेका खासै पाइएन ।

लोककल्याणकारी राज्यको भावना रहेको कुरा जनताले बुझेका छन् । जनता र सरकारको बीचमा विश्वासको वातावरण छ । यस्तो देशले विकास सँगसँगै जनताको उन्नति प्रगति पनि गराउँछ । यो तहमा पुग्न नेपालले निकै कसरत गर्नुपर्ने हुन्छ । बेलायतको राजधानी लण्डन संसारकै आधुनिक सहर हो ।  लण्डनलाई पार्क र गार्डेनले अझ सुन्दर बनाएको छ । हुन त बेलायत पार्क नै पार्कले भरिएको हरियाली देश जस्तो लाग्छ । बस्तीको बीचमा सुन्दर पार्कहरू बनाइएका छन जतासुकै पार्क नै पार्क छ । पार्कमा बालकहरूका लागि खेल्ने सामग्री सहित सुरक्षित क्षेत्र बनाइएको छ ।  युवायुवतीका लागि बेग्लै स्थान छन । खेलुकद  स्पटको व्यवस्था मिलाइएको छ, भने जेष्ठ नागरिकका लागि आरामले बस्ने छुट्टै स्थान छन । खाजा खाने, दिशा पिसाब गर्ने स्थानको पनि व्यवस्था मिलाइएको हुन्छ । यसरी मानव बस्तीमा पार्कहरु निर्माण गरिदिएर बगैचा बनाएर, निश्चित ठाउँमा बजार र अति आवश्यक दैनिक उपभोग सामानको लागि साना पसलको समेत ठाउँठाउँमा व्यवस्था मिलाइ सुविधा दिएको छ । ठुला अस्पताल बाहेक साना स्वास्थ्य केन्द्र पनि ठाउँठाउँमा व्यवस्था मिलाइएको छ । मानव बस्तीलाई एकीकृत रुपमा विस्तार गरिएको छ । बाक्लै बस्ती बसालिएको छ । आफूखुसी जतासुकै घर बनाएर बस्न दिइएको छैन ।

नेपालका पनि पनि बस्तीलाई एकीकृत गरेर बस्ने गर्नुपर्छ । छरिएर फाट्टफुट्ट बस्ने व्यवस्थाले गर्दा सरकारले जनतामा सेवा पु¥याउन कठिन भएको छ र खर्च पनि बढेको छ बेलायतबाट हामीले यो पाठ सिक्नु आवश्यक छ । समग्रमा भन्नु पर्दा बेलायतीले वर्तमानमा बाच्न सिकेका छन् । भविष्यको त्यति चिन्ता नलिने र भूतलाई पाठको रुपमा सिक्ने गरेको जस्तो देखिन्छ । मानसिक रूपमा सबै सुखी नै छन् भन्न सकिन्न तर भौतिक रूपमा संरक्षित हेर्दा सुखी नै देखिन्छन् । सबै मानिस सम्पन्न छन भन्न सकिन्न तर देश सम्पन्न छ भन्न सहजै सकिन्छ देशको सम्पन्नताले जनतालाई पनि सम्पन्न बनाउँदछ नै मैले हेर्दा बेलायत बाट नेपालले धेरै कुरा सिक्न बाँकी नै छ जस्तो लाग्छ ।

 

प्रतिकृया दिनुहोस

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

कष्टकर यात्राको रमाइलो अनुभूति

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला