हिन्दुत्व विरोधी संविधान

     हिन्दुत्व विरोधी संविधान

अभिषेक जोशी

पृष्ठभूमिः

नेपालको संविधान जारी भएको ३ वर्ष पूरा भएको छ । जननिर्वाचित दोस्रो संविधानसभाबाट निर्मित संविधान संसारकै उत्कृष्ट भएको टिप्पणी गरिन्छ । २०७२ साल भदौ ३० गते २ संविधानसभाका तिहाई सदस्यबाट पारित यो संविधान संसारकै पछिल्लो जनमतबाट निर्मित संविधान पनि हो । तर, बिडम्बना यस्तो महत्वपूर्ण दस्तावेजले  हिन्दु धर्ममाथि अन्याय गरेको छ । संविधानको प्रस्तावनामा उल्लेख गरिएको ‘नेपाल एक–बहुधार्मिक राष्ट्र हो ।’ हो,भाषा, संस्कृति र जातिलाई ‘बहु’ भन्न सुहाउँछ । तर धर्मका लागि ‘बहु’ शब्द प्रयोग गर्न मिल्दैन । किनभने धर्म एउटामात्र हुन्छ त्यो हो सनातन । अन्य सबै पन्थ अर्थात धार्मिक पथ मात्र हुन । यो सनातन मान्यता पनि हो । पन्थलाई धर्म मान्ने हो भने ‘माक्र्सवाद’ ‘गान्धीवाद’ ‘समाजवाद’लाई पनि यो परिभाषा भित्र अटाउनु पर्ने हुन्छ ।  

धर्मको सामान्य अर्थ हो धारण गरिएको गुण । जस्तैः आगोको धर्म ताप र उज्यालो दिनु हो ।  अनि सम्पर्कमा आउने पदार्थलाई जलाउनु । धर्मको यस सामान्य अर्थले ब्रह्माण्डमा विद्यमान जड तथा चेतन पदार्थले धारण गरेको गुणलाई सम्बोधन गर्छ ।  

यस बाहेक धर्मका दश लक्षण बताईएका छन्–धैर्य, क्षमा, दम (वासनामाथि नियन्त्रण राख्नु), आस्तेय (चोरी नगर्नु), शौच (तन र मनलाई सफा राख्नु), ईन्द्रीय निग्रह (ईन्द्रीयलाई नियन्त्रणमा राख्नु), धी (बुद्धि, विवेक), विद्या, सत्य र अक्रोध । यसैलाई, वैदिक ग्रन्थले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग् भवेत्’ भन्यो । यसैलाई भगवान बुद्धले ‘बहुजन हिताय, बहुजन सुखाय’ भने । यसैलाई हामीले ‘वसुधैव कुटुम्बकम’ भनेर अनुशरण ग¥यौँ ।

माथि उल्लेख गरिएका दश गुण जहाँ छैनन्; त्यहाँ धर्म छैन । जुन शिक्षा वा दर्शनले यी दश गुणलाई बोक्न सक्दैन; त्यस्तो शिक्षा वा दर्शनलाई धर्म भनेर सम्बोधन गर्न मिल्दैन । यसर्थ, दुनियाँमा केवल एक धर्म छ–सनातन धर्म ।

नेपालको संविधानले ‘बहुधार्मिक’ शब्द प्रस्तावनामा राखेर धर्मको मर्म मार्न खोजेको देखिन्छ । यो पन्थीय विचारबाट प्रेरित भएको देखिन्छ । पन्थलाई सनातन धर्मको समकक्षी मान्यता दिने प्रयास भएको छ । संविधानको यस व्याख्याले हिन्दु, बौद्ध, किराँत र बोनहरूको अस्तित्वलाई तल झारेर ईसाई, ईस्लाम र बहाईको समकक्षमा उभ्याई दिएको छ । तथापि, आपूmलाई सनातनी भन्नेहरूले आजसम्म यस विषयमा आवाज उठाएको छैनन् । बरु उल्टै, आपूmलाई किराँत र बौद्ध बताउनेहरू संविधानमा रहेको बहुधार्मिक शब्द आपूmहरूको हितका लागि हो भन्ने बुझिरहेका छन् । उनीहरूलाई हिन्दु तिमीहरूको धार्मिक शत्रु हो भन्ने पाठ पढाइएको छ ।

उनीहरू माझ ‘हिन्दु र हाम्रो धार्मिक पद्दति समान छ; हाम्रा पूजास्थल समान छन्; हामी हिँडेर आएको बाटो समान छ । हाम्रो शिक्षा समान छ । हामीबीच शत्रुको होईन मित्रको सम्बन्ध हुनुपर्छ’ भन्नेहरू निकै कम छन् । पछिल्ला दश वर्षको अवधिमाको यथार्थ पनि यही हो–गणतन्त्र नेपालमा सबैभन्दा बढी धर्मान्तरणको शिकार बौद्ध, किराँत र बोनहरू भएका छन् ।

कसैले अस्वीकार गर्दैमा सत्य लुक्दैन । द्विविधाग्रस्त संविधान त्यसैगरी नेपालको संविधान, २०७२ मा एउटा अर्काे शब्द छ–धर्मनिरपेक्ष । के राज्यको कुनै धर्म हुँदैन ? राज्य भनेको को हो ? माटो राज्य हो कि ?  पानी राज्य हो कि ? कि मानिस राज्य हो ? अनि के माटो, पानी, हावा, वनजंगल, मानिस धर्मविहीन छन ? तसर्थ, धर्मको अर्थ नै नबुझेकाहरू राज्य धर्मनिरपेक्ष हुन्छ भन्ने प्रकारको टिप्पणी गर्ने गर्दछन् ।

जसरी ‘कर्म’को अंग्रेजी समकक्षी शब्द नभएकै कारण ‘ड्युटी’ शब्द प्रयोग गरिन्थ्यो तर आजभोली अंग्रेजीमा पनि कर्म नै भन्न थालियो । त्यसरी नै ‘धर्म’ को पनि अंग्रेजी समकक्षी शब्द नभएको कारण ‘रिलिजन’ भनिन्थ्यो तर अहिले बुद्धिजीवीहरू अंग्रेजीमा पनि धर्म नै भन्न थालेका छन् । र, युरोपमा चर्चले आम नागरिकमाथि अनेक प्रकारका अत्याचार थोपरेपछि त्यसविरुद्ध एउटा सिद्धान्त खडा भएको थियो–राज्यको कुनै रिलिजन हुँदैन । हाम्रा लालबुझक्कड विद्वानहरूले त्यसलाई ‘राज्यको कुनै धर्म हुँदैन’ भनेर व्यख्या गरेर र तिनका कार्यकर्ता पनि त्यसैबाट प्रशिक्षित भए । यसबारे सनातनधारी पनि वास्तविकता बुझाउन चुके ।  

‘धर्मनिरपेक्ष राज्य’को अप्राकृतिक व्याख्या दिने नेपालको संविधानले भाग १, धारा ४ मा धर्मनिरपेक्षतामाथि यस्तो स्पष्टीकरण राखेको छ–सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षण लगायत धार्मिक, साँस्कृतिक स्वतन्त्रता । यसलाई थप स्पष्ट पार्दै, धार्मिक स्वतन्त्रताको हकको उपधारा ३ मा ‘सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ,’ भनिएको छ । धर्मनिरपेक्ष राष्ट्रभित्र ‘सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षण’ आफैँमा द्विविधाग्रस्त र संकीर्ण चिन्तनको उपज हो । हाम्रो नेतृत्व वर्ग जुन सनातन धर्मपरम्पराबाट पोषित भएर यहाँसम्म आई पुगेको छ, त्यस सनातनधर्म परम्परालाई एकातर्फ उसले ‘धर्म निरपेक्ष’ शब्द प्रयोग गरेर अस्वीकार गरेको छ ।

अर्काेतर्फ, धर्म निरपेक्षमाथि स्पष्टीकरण दिँदै त्यस सनातनधर्म परम्पराको संरक्षण गर्ने व्यवस्था गरेको छ । नेपालको क्रिश्चियन समाज संविधानमा गरिएको यो व्यवस्था आफूहरू विरुद्ध रहेको भन्ठान्छ वा नेपाली सनातनीहरूलाई मुर्ख बनाउन यस प्रकारको अभिव्यक्ति सार्वजनिक गर्ने गर्दछ । तर, नेपाल पन्थनिरपेक्ष मुलुक हैन; धर्मनिरपेक्ष मुलुक हो । त्यसकारण नेपालमा रामपाल र जिसस पालहरूले आँत्तिनु पर्दैन । आरामले आप्mनो पन्थ प्रचार गरे हुन्छ । आँत्तिनु पर्ने त आपूmलाई सनातनी भन्ने हिन्दु, बौद्ध, बोन र किराँतहरूले हो ।

लाजमर्दाे बौद्धिकता

विदुर नीतिमा भनिएको छ– जसले धर्म र अर्थलाई राम्रोसँग बुझेको छ; उसले नै शासन प्राप्त गर्दछ । ऋग्वेदको प्रथम मण्डलका शुक्तहरूमा शासकलाई धर्मको अनुशरण गर्दै राष्ट्र र नागरिकको हितका लागि मात्रै कार्य गर्न भनिएको छ । ऋग्वेदले विद्वानहरूलाई देवताको दर्जा दिएको छ र शासकलाई विद्वानहरूको सल्लाह सुझाव अनुसार राज्य सञ्चालन गर्न सुझाएको छ ।

नेपालको नेतृत्व वर्ग तथा विद्वान वर्ग राष्ट्र र नागरिकको हितका लागि सक्रिय रहेको पाईँदैन । राष्ट्र र नागरिकको हितका लागि सक्रिय शासक र विद्वानहरू ‘बाहिरियाको प्रभाव’ बाट मुक्त रहन्छन् । मुलुकको विशिष्टतालाई उनीहरूले राम्रोसँग बुझेको हुनुपर्छ । यहाँ त्यस्तो तरिकाको अभ्यास दुबै पक्षबाट हुन नसकेका प्रशस्त उदाहरण छन् । अहिलेलाई, उदाहरणको रुपमा नेपालको वर्तमान संविधानलाई नै लिन सकिन्छ । संविधानको धारा ४२ समानताको हकमा यस्तो लेखिएको छ–आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित पा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिध्दान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।

त्यसैगरी संविधानको भाग ८, संघीय व्यवस्थापिका शिर्षकभित्र धारा ८४ को उपधारा २ ले ‘समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेद्वारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सुचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।’ भनेको छ ।

यी दुईटै धारा समानता र समावेशीताको वकालत गर्दछन् । यहाँ प्रयुक्त ‘खस आर्य’ शब्दले नेपालको पहाडी बाहुन क्षेत्री जातिलाई जनाएको प्रष्ट छ । यसर्थ, नेपालको पहाडी बाहुन क्षेत्री जातिले पनि समानता र समावेशीताको हकको अभ्यास गर्न पाउनुपर्छ भन्ने यी दुई धाराको बोक्रे आशय देखिन्छ । तथापी, नेपालका नश्लवादी बौद्धिकताको अभ्यास गरिरहेका केही विद्वानहरू पहाडी हिन्दु बाहुन क्षेत्रीले समानता र समावेशीताको अभ्यास गर्नै पाउनुहुन्न भन्दै कुर्लिरहेका भेटिन्छन् । यिनीहरूको पछाडिपट्टि युरोपियन युनियन उभिईरहेको सहजै अनुमान लगाउन सकिन्छ  किनभने युरोपियन युनियनले पनि केही समय अघि यस्तै मनसाय नेपाल सरकार सामु प्रस्तुत गरेको थियो ।

‘आर्य’ शब्दको सनातन धर्मभित्र हिन्दु र बौद्धमा विशिष्ट महत्व छ । आर्य शब्दका उत्तम, श्रेष्ठ आदि अनेक अर्थ छन् । यी सबै अर्थ गुणबोधक हुन्; जातिबोधक होईनन् । संविधानले नेपालको पहाडी हिन्दु बाहुन क्षेत्रीलाई ‘उत्तम, श्रेष्ठ’ को दर्जा दिईदियो । बाँकी अनार्य ठहरिए । शब्दको यस्तो गलत प्रयोगको विद्वानहरूबाट विरोध हुनुपर्ने थियो । आर्य शब्द कुनै जाति विशेषको पेवा होईन भनिनुपथ्र्याे । तर, यस हिसाबले संविधानको विरोध गर्दा उनीहरूको जातिवाद र नश्लवादको पसल नचल्ने प्रष्ट थियो । त्यसकारण, उनीहरूले संविधानले नै अपनाएको बाटो अपनाए र आर्य भनेको पहाडी हिन्दु बाहुन क्षेत्री मात्रै हो भन्ने गलत अर्थलाई आप्mनो स्वार्थपूर्तिको बलियो अस्त्र बनाए ।

निष्कर्ष

नक्सलवाद र सेक्युलरिजमका समर्थक कथित् विद्वानहरुलाई भारतीय प्रहरीले धरपकड गरेपछि कम्युनिष्ट विद्वान अरुन्धती रोयले भनिन्, ‘हामी हिन्दु अतिवाद विरुध्द लडीरहेका छौँ ।’ स्वधर्मको सम्मानका लागि कुनै हिन्दु बोल्छ भने यी कथित विद्वानहरू त्यसलाई ‘अतिवाद’ को संज्ञा दिन्छन् तर कुनै ईसाई वा ईस्लामले स्वपन्थको प्रचार गर्दा त्यसलाई यिनीहरू ‘धर्मनिरपेक्षता’को अभ्यास ठान्छन् ।

नेपालमा पनि यस्ता संकिर्णतावादी विद्वानहरू सदन र सडकमा पालिएका छन् । सदनमा बसेकाहरूले संविधानमा ‘खसआर्य’ शब्द थोपरे । अनि, सडकमा बसेकाहरू त्यसको विरोधमा उत्रिए । समग्रमा, सदनमा बसेर ‘बहुधार्मिक’ ‘धर्मनिरपेक्ष’ ‘खसआर्य’ जस्ता शब्दको व्यवस्था गर्नेहरू अनि सडकमा बसेर यी शब्दहरूको दुरुपयोगको विरोध नगरी यी शब्दको आधारमा पहाडी हिन्दु बाहुन क्षेत्री जातिको विरोध गर्नेहरू नेपाल राष्ट्रको अस्तित्व नामेट पार्न कम्मर कसेर लागिपरेका छन् ।    

 

प्रतिकृया दिनुहोस

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

कष्टकर यात्राको रमाइलो अनुभूति

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला