कष्टकर यात्राको रमाइलो अनुभूति

कष्टकर यात्राको रमाइलो अनुभूति

सरस्वती पाण्डे ‘सरस’/नेपाल मन्दिर नै मन्दिर भएको देशको रूपमा विश्वमा परिचित छ । धार्मिक तथा साँस्कृतिक ऐतिहासिकता नेपालको आफ्नै विशेषता हो । यस्तो देशमा जन्मिन पाएको आफैंलाई गर्व भएको अनुभूति हुन्छ । म सबैं धर्मलाई सम्मान गर्छु । तर, म हिन्दु हुँ । भगवानप्रति आस्था सबैको हुन्छ । सबै धर्मको सारतत्त्व भनेको मानवीयता, अहिंसा, शान्ति नै हो । धर्मले अनुशासन सिकाउँछ । झुक्न सिकाउँछ । नैतिकता सिकाउँछ । हो, त्यही भएर सबै धर्मप्रति मानिसुको लगाव महत्त्वपूर्ण भएको देख्छु  । 

मैले दोलखा भीमसेन मन्दिरको दर्शन गर्ने सोच बनाएको थिएँ । पहिला एकपटक पनि गरेकै हो । फेरि दर्शन गर्न मन लाग्यो । जाने योजना बनाएँ । मन्दिरको आफ्नै इतिहास छ, धार्मिक महत्त्व छ, किम्वदन्ति छ त्यसैले मानिसहरू टाढा–टाढाबाट पनि जोखिम मोलेरै भए पनि दर्शन गर्न जान्छन् । त्रिभूज आकारको कालो शिला मूर्तिलाई भीमेश्वर, भीमसेन या भैरवको रूपमा पुजिन्छ । त्यसैले एक शिला तीन अबतार मानिएको छ । कसै कसैले यहि मूर्तिलाई नै देवी भगवतीको रूपमा पनि मानेको किम्बदन्ति रहेको छ । शिवको अर्को रूप भैरव, भीम पनि हो । त्यसैले महादेव पशुपतिको रूपमा रुद्री पूजा गरिन्छ भने, भीमसेन, भैरवको रूपमा वली पूजा समेत गरिन्छ । यस भीमेश्वर, भीमसेनमा साधारण पूजादेखि पञ्चवली र एकल पूजा (याकर पूजा) समेत गरिने परम्परागत चलन रहेछ । यो भीमेश्वर भीमसेनको मूर्ति कहिले कस्ले स्थापना गरेको हो एकिन गर्ने आधार प्रमाण भने भेटिएको छैन । वडा दशैमा पूजा संकल्प गर्दा किरात कालिन देखिका राजा महाराजाहरूको नाम लिने चलन छ । हाम्रो साँस्कृतिक धरोहर, धार्मिक आस्थाको प्रतीक, ऐतिहासिक, पर्यटकीय स्थल, प्रकृतिले कुनै कन्जुस्याईं नगरी आफ्नो सौन्दर्य ओछ्याएको ठाउँ दोलखा भीमसेन हो ।   

दर्शन गर्न हामी कलंकीबाट बसपार्कतिर लाग्यौं । बर्खा यामको हिलो बाटो छिचोल्दै हामी बसपार्क पुग्यौं म, श्रीमान् र सानो छोरा । बसपार्क पुग्दा ढिलो भइसकेको थियो । चाहेको जस्तो बसको सीट पाउन सकिएन । त्यसैले अन्तिमको सिटमात्र खाली रहेछ । त्यही भए पनि चित्त बुझायौं । जानु त जसरी पनि छँदै छ । बच्चा बोकेर जानुपर्ने भएकाले अगाडि सीट मिलाइदिन आग्रह गर्दा छैन भनेपछि विहानाको साढे ९ बजेर गुड्ने पछाडिकै टिकट काटियो । केहि समयपछि हाम्रो यात्रा सुरु भयो । दोलखाको रमणीय दृश्यको कल्पनासहित बसबाट बाहिरको दृश्य हेर्दै, गफ गर्दै अगाडि बढ्यौँ । ४ वर्ष पहिले गइसकेको हुनाले थोरै भएपनि दोलखा जाने बाटो, मन्दिर वरिपरिको प्राकृतिक छटाको बारेमा मलाई थाहा थियो । पहिले साथीहरूसँग नयाँयात्रा र स्मरणीय पल संगाल्दै गएकी म यसपटक भने श्रीमान्को साथमा रमाउँदै यात्रा गरेकी थिएँ । हामी बसपार्कबाट थापाथली, बानेश्वर, कोटेश्वर, सांगा, वनेपा, धुलिखेल, पाँचखाल, जिरोकिलो, दोलालघाट, अंधेरी हुँदै काठमाडौँ कटेपछि गाडिको झ्यालबाट धुलो खाँदै यात्रा जारी रह्यो ।  

 बाहिरी दृश्यलाई नियाँल्दै गर्दा मलाई लाग्दै थियो– यो चार वर्षमा धेरै राम्रा परिवर्तन भएका होलान् । बाटो फराकिलो भएको होला । पिच भएको हो । सडक सफासुग्घर होला । तर त्यसको विपरीत झन बिग्रीएको र मर्मतसम्हार समेत नभएको देखें । यो देख्दा दुःख लाग्यो । हाम्रो विकासको अवस्थालाई मैले सम्झें । यस्तो गतिले कहिले विकास होला मुलुक ? जेहोस् चिन्ता सबैलाई छ । चिन्ता र सोच हनुसारको काम हुन नसकेको हो हाम्रो देशमा । यात्रा अगाडि बढिरहेको छ ।  मेरो श्रीमान् तीन वर्षपछि हाम्रो उत्तरी छिमेकी मुलुक चीनबाट नेपाल फर्कनु लगत्तै दोलखाको यात्रामा निस्कनु भएको थियो । उहाँ हरेक ठाउँलाई चीनका विभिन्त्न ठाउँसँग तुलना गर्नुहुन्थ्यो । चीनमा यस्ता ठाउँलाई कस्तो राम्रो बनाएका छन् तर हाम्रो देशमा भएको प्राकृतिक तथा धार्मिक स्थलहरूलाई स्याहार,सम्भार गरिएको छैन । जताततै धुलोमौलोले छोपिएको छ । देश विकासको नारा लगाएर सत्तामा पुगेकाहरूले विकास त परै जाओस् सबैको लागि अपरिहार्य बाटोको समेत राम्रो व्यवस्था छैनन् भन्दै हुनुहुन्थ्यो । यात्रा जारी नै छ । देश विकास र चिन्ताले सताएको पनि छ । 

खाडिचौर नजिकैको एक होटलमा खाना खान बस रोक्यो । बसका स्टाफ र यात्रुसहित हामी पनि सँगै खाना खायौं । महङ्गो शुल्कको खाना खाएर फेरि खाडिचौरबाट सीधा रहेको अरनीको राजमार्ग छोडेर लामोसाँघु रामेछाम राजमार्गको बाटो समाउँदै दाँयातर्फ बढ्यौँ । त्यसपछि स्वाँरा, भालुखोप पछि थुमपाखरको उकालो लाग्यौँ । यात्रा रोमाञ्चक पनि लाग्दै छ । पहिलेको बाटोलाई फराकिलो बनाउँने बहानामा जथाभावी रूपमा बाटो भत्काएर बनाउने सुरसार नगरी लथालिंग छोडेको देख्दा प्रकृतीको सौन्दर्यलाई नै बाटोका खाल्डाखुल्डीले गिज्याएको जस्तो लाग्यो । मुडे पुग्यौँ । २०७२ वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएका घरहरू देखिए । भत्किएका घर, पानी चुहिएला जस्ता कटेजले भूकम्पले पारेको घाऊ देखियो । खाटो त मेटिदैन, घाऊ पुरिन कतिवर्ष लाग्छ थाहा छैन । 

उसैबीच मनमा आशाका किरणहरू पनि छरिए । मनमा हर्ष बढ्यो । त्यहाँको प्रशंसनीय आलु जताततै देखियो । मुडेको आलु भनेपछि मानिहरू राम्रो मानेर किन्छन् काठमाडौँतिर । स्वादिलो र छिटो पाक्ने भएकाले मानिसहरूले पनि रुचाउँछन् । यसले हाम्रो देश कृषि प्रधान हो भनेर सिन्धुपाल्चोकबासीले शाख जोगाएका छन् । कृषकलाई मैले मनमनै धन्यावाद स्वरूप गुच्छा अर्पन गरेँ । जिन्दगी यात्रा नै रहेछ । कतै यात्रा गर्दा मानिसहरू भन्छन् । जसरी यात्रामा रहँदा उकाली–ओराली पार गरिन्छ त्यसरी नै जिन्दगीका उकाली–ओराली पार हुँदै जान्छन् । तर, त्यो कहिले दुःखमा त कहिले सुखमा । त्यही भएर भन्नेले भनेका होलाज जिन्दगी यात्रा हो । गीतै छ–यात्रा रहेछ जिन्दगी ! हाम्रो यात्रा जारी छ । बसमा गीत बजिरहेको छ–प्रेमका । श्रीमान् र सानो छोरो साथैमा रहँदा सोच्छु–मेरो जीवन प्रेममय छ । आहाल डाँडा, खरिढुङ्गा, कालिन्चोक हुँदै दोलखाको भीमेश्वर नगरपालिकामा हाम्रो प्रवेश भयो । त्यसपछि चरिकोटमा पुगेर बसबाट ओर्लियौँ । 

दोलखा भिमसेनको दर्शन गर्न चरिकोटबाट स्थानीय सडकमा गुड्ने बस चढेर लामबगर हुँदै दोलखा मन्दिर नजिकको बसपार्कमा पुग्यौँ । पहिलोचोटि जाँदा म ४ घण्टा ३० मिनेटमा पुगेको थिएँ । यसपटक झण्डै ९ घण्टा लाग्यो ।  सत्तावालहरूले एक पटक सिन्धुपाल्चोक, दोलखा जिल्लावासीले दैनिक यात्रा गर्ने कष्टकर जीवनलाई हेरिदिने हो भने त्यहाँ बगेका पीडाका खोपिल्टाहरूमा छिट्टै मलम लाग्थ्यो कि ? हाम्रो यात्रा रमणीय भन्दा पनि जिल्लावासीका पीडा र विकासको नाममा बढी केन्द्रित भयो । साँझ परिसकेको हुनाले हामीले मन्दिर नजिकै रहेको दोलखा दर्शन होटलमा दिनभरीको यात्रामय थकाई मार्नका लागि होटलको कोठा बुक गर्यौँ ।भोलिपल्ट काठमाडौँ फर्किनु पर्ने भएको हुनाले हामी ४ बजे नै उठेर नुवाईधुवाई गरेर पाँच ५ बजे मन्दिर दर्शनको लागि गयौँ । बिहान मन्दिर खाली भएको हुनाले हामीले सजिलोसँग पूजाअर्चना ग¥यौ । फोटो खिच्यौं । ७ बजेको टिकट काटेर काठमाडौँ फर्कियौँ । 

बाटो उही हो । जाँदा सहज थिएन । आउँदा हुने कुरै भएन । असहज भयो । जुन उद्देश्य थियो मन्दिर दर्शनगर्नु त्यो उद्देश्य भने हाम्रो सहन रूपमा पूरा भयो । आउँदा पनि सुन्दर प्राकृतिक सौन्दर्य नियाल्दै सडका खोपिल्टामा गाडिको पाङ्ग्रासँगै आफूलाई पनि बजार्दै आउँदै थियौं खरिढुङ्गामा आएपछि गाडि फस्यो । सबै डरायौँ । गाडिभित्रकै एक पेसिन्जरले डोजर बोलाए र गाडिलाई फसेको ठाउँबाट बाहिर निकाल्न लगाए । यात्राको क्रममा गाडि फसेर धेरै यात्रुहरूले पाएको सास्तीलाई महसुस गर्दै हामीले मुडेमा आएर खाना खायौँ र भारी थकाईसँगै उही ९ घण्टामा काठमाडौँमा उत्रिएर आफ्नो बासस्थान तर्फ लाग्यौँ । 

अन्त्यमा, प्रकृतिले दिएको मनमोहक दृश्य र भीमसेन मन्दिरको दर्शनले दिएको खुसी बाहेक हामीले कुनै पनि सहजताको महसुस गर्न सकेनौँ । माथि उल्लेखित साझा समस्यालाई सरोकारवालाहरूले बेलैमा सोचेर विकास निर्माणका कार्यमा लागुन । योजनाविहिन राज्यको नीतिले गर्दा देश विकासमा हुन पुगेको छ । विकासमा ढिलासुस्तीले राज्यलाई कमजोर बनाएको छ । समयको महत्त्वलाई ध्यानमा राखेर अब आउने पर्यटक वर्षलाई सार्थक बनाउनको लागि योजना बनाएर र बनाएका योजना कार्यान्वय गर्न सके सबैको हित हुन्छ ।   

 

प्रतिकृया दिनुहोस

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

कष्टकर यात्राको रमाइलो अनुभूति

बेलौरी गुमनाम नाका

काभ्रेका सामुदायिक विद्यालय राजनीतिको

ब्लग : ‘घाँडो’ भयो संघीयता

नेपाललाई शंकराचार्य परम्परा आवश्यक

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला