बेलौरी गुमनाम नाका

       बेलौरी गुमनाम नाका

अभिषेक जोशी/अमरवाणी,

सन् १८५७ मा भारतमा अंग्रेज शासनविरुद्ध सैनिक विद्रोह सुरू भयो । संसारभर एकछत्र राज गरिरहेका अंग्रेजलाई भारतबाट हटाउन ठूलै आन्दोलन र बल आवश्यक थियो । छिमेकी नेपालबाट भारतीयहरूले सैनिक सहयोगको अपेक्षा राखेका थिए । तर, तत्कालीन श्री ३ जंगबहादुर राणाले उल्टो अंग्रेजको समर्थन गरे । नेपाली गोर्खा फौजको बलमा अंग्रेजलाई उक्त सैनिक विद्रोह दबाउन सहयोग पुग्यो । त्यही गुन सम्झेर होला अंग्रेज शासकहरूले सन् १८६० मा नेपाललाई गुमेको भू–भाग फिर्ता दियो । सन् १८१५ मा भएको सुगौली सन्धिमा नेपालले यो भू–भाग गुमाएको थियो । 

नयाँ मुलुकका रुपमा समेत परिचित (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) वि.सं. १९१७ मा नेपालले उपहार स्वरुप प्राप्त गर्यो । फिर्ता भएको उक्त क्षेत्र त्यतिबेला राणाहरूले विर्ताको रुपमा बाँडेका थिए । त्यतिबेला तराईमा औलो र  मलेरिया रोगको डर थियो । त्यसैले पहाडबाट त्यति धेरै वस्ती तराई झरेका थिएन।

०१९ साल अघिसम्म कञ्चनपुर/कैलालीको मुख्यद्वार, भन्सार तथा सदरमुकाम बेलौरी थियो। भारतबाट नून लगायत अन्य घरेलु सामान ल्याउने मुख्य नाका नै बेलौरी थियो । महाकाली माध्यमिक विद्यालय तथा महाकाली बहुमुखी क्याम्पसका संस्थापक एवम् पूर्व प्रमुख प्रेमसिंह बोहराले भने, ‘कञ्चनपुर र कैलालीको संयुक्त सदरमुकाम थियो, बेलौरी भन्ने सुनेको हुँ ।’

त्यतिबेला नेपाल ५० जिल्लामा विभाजित थियो । बोहरा भन्छन्, ‘त्यति बेला नै भाषा पाठशालासमेत रहेको मलाई प्रजापति जोशीले बताउनुभएको थियो ।’ बस्ती खासै थिएन। भन्सार थियो । कच्ची भवनमा प्रहरी चौकी थियो। ०२८ सालमा राजा महेन्द्रले भुतपूर्व सैनिकलाई इलाका सुरक्षाका लागि फटिया, पचुई, नयाँ गाउँतिर बसालेका थिए । चौधरी समुदायका तुलनामा राना थारु अलिक बढी थिए ।

राजा महेन्द्रले २०२१ मा सदरमुकाम महेन्द्रनगर सारेपछि बेलौरीको ताज खोसियो । महेन्द्रनगर सदरमुकाम भएपछि चल्ती उतै बढ्यो र बेलौरी झनै ओझेलमा पर्यो । मुख्य भन्सार कार्यालय पनि उतै स¥यो । बेलौरी छोटी भन्सार नाकामा खुम्चिन पुग्यो । ०३५ सालमा श्रीपुर–कलुवापुर सहायक राजमार्ग निर्माण भयो त्यसपछि बेलौरी महेन्द्र राजमार्गसँग जोडियो । दुर्भाग्य नै मान्नुपर्छ, ०३५ सालमा खनिएको श्रीपुर–कलुवापुर सहायक राजमार्ग अझै पक्की हुनसकेको छैन ।

०३८ सालमा राजा विरेन्द्र सुदुरपश्चिम भ्रमण निस्के । कञ्चनपुर तथा कैलाली जिल्लाको सीमामा बसेको बाईसेविचुवाको कुनै थारु घरमा वास बसेका राजा वीरेन्द्रलाई उनले त्यतिबेलै, बेलौरीलाई भन्सारको रुपमा विकास गरिदिन विन्तीपत्र चढाएका थिए । तर,विन्तीपत्र केबल विन्तिमै सीमित बन्न पुग्यो । समस्याको सुनावाई नै भएन ।

बेलौरीका लागि अर्को दुर्भाग्य बन्यो माओवादी जनयुद्ध । ०५८ सालमा दरबार हत्याकाण्डपछि माओवादी आन्दोलनले उग्र रुप लियो । त्यसबाट बेलौरी क्षेत्र पनि अछुतो रहेन । माओवादीको डरले सरकारी कार्यालय बैंक र ईलाका प्रहरी कार्यालयसँगै अन्य सबै कार्यालयल महेन्द्रनगर सारिए । यतिखेर बेलौरी टुहुरो भईसकेको थियो । तस्करहरूको बिगबिगी बढ्न थाल्यो । भारतपट्टी पुलिस भए पनि तस्करहरू उनीहरूलाई पैसा खुवाएर तस्करी गर्ने गर्थे । कञ्चनपुर  क्षेत्र नम्बर– १ का पूर्व सांसद एवम् कांग्रेस नेता दिवानसिंह विष्ट भन्छन्, ‘मुल भन्सार नभएकै कारण बेलौरी नाकाबाट आयात भएको सामान दुई नम्बरीको भन्दै आज पनि पक्राउ पर्ने गरेको छ ।’

संसदमा पुगेर उनले बेलौरीको विकासका लागि थुप्रै योजना अघि सारेको बताए । ‘मालपोत र विद्युतको विल तिर्न महेन्द्रनगर जानुपथ्र्याे । मेरै पहलमा मालपोत र विद्युत प्राधिकरणको शाखा बेलौरीमा खुले । बेलौरी नगरपालिका घोषणा भयो । २२ ओटा पुलको योजनामा पारेँ । हुलाकी राजमार्गको काम मेरै पहलमा अगाडि बढ्यो । सडक विस्तारको काम पनि मैले नै सुरु गरेको हो’, विष्टले भने । बेलौरी नाकालाई मुख्य भन्सारका बनाउनु पर्ने भन्दै विष्टले तत्कालीन प्रधानमन्त्री सुशील कोईरालादेखि उद्योग वाणिज्यमन्त्री, अर्थमन्त्री, भारतीय राजदुतावाससम्म पुगेर आवाज उठाए ।

उनी भन्छन्, ‘स्व. सुशील कोईरालासँग मेरो गहिरो परिचय भएको कारण र उहाँ आफैँ पनि केहि समय यो क्षेत्रमा बसेको कारण मेरो प्रस्तावलाई उहाँले समर्थन दिँदै अगाडि बढाउन पहल गरिदिनुभयो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारलाई सो भन्सार नाका सञ्चालनका लागि पत्र लेख्यो । भारत सरकारले उत्तर प्रदेश राज्य सरकारमार्फत् खजुरिया–बेलौरी भन्सार नाका अध्ययन गर्न एउटा विज्ञ टोली नै पठायो, लखनउबाट । उनीहरुले पनि बेलौरीलाई भन्सार नाकाका रुपमा सञ्चालन गर्न सकिने विषयमा सहमति दिएका थिए ।’

परराष्ट्र मन्त्रालय र विष्टले आफंैले पनि भारतीय दुतावासलाई यस सम्बन्धमा पत्रहरु लेखेका रहेछन् । विष्टले लेखेको पत्रमा बेलौरी नाकालाई नै किन भन्सार नाकाको रुपमा विकास गर्नुपर्छ भन्ने सन्दर्भमा केही तथ्य उल्लेख गरिएका छन्, ‘कैलालीको धनगढी नजिक रहेको गौरीफन्टा नाका दुधवा नेशनल पार्कका वन्यजन्तु सुरक्षाको कारण देखाउँदै बन्द गरिएको छ । अर्काे चर्चित नाका महेन्द्रनगर–वनवासा शारदा ब्यारेजको जीर्ण भएका कारण दिनमा १८ घण्टा बन्द रहन्छ । ठूला सवारीसाधनलाई आवतजावत निषेध गरिएको छ ।’

उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष यज्ञ कँडेल भन्छन्, ‘यहाँ ४ विघा १८ कठ्ठा अनि १७ धुर सरकारी जमीन छ । भन्सारका लागि आवश्यक पर्ने पूर्वाधार खडा गर्न जग्गा अधिग्रहण गर्नुपर्ने समस्या छैन । त्यसैगरी, महेन्द्रनगर र धनगढीको यो केन्द्र पनि यही हो । यहाँबाट धनगढी २३ किलोमिटर अनि महेन्द्रनगर ४० किलोमिटर टाढा छ ।’

बेलौरीलाई भन्सार नाकाको रुपमा विकास गर्नुपर्ने अन्य पनि आधारहरु छन् । यहाँ नदीनाला छैनन्, त्यसैले पुल बनाउनुपर्ने वा बर्खामा बाढीको समस्या हुदैन् । अर्को यहाँ छेउछाउ वनजन्तु आरक्षण पनि छैनन् । कृषि जमिनले दुबैतिरको भुभाग जोडिएको छ । भारतपट्टि चार लेनको पक्की सडक निर्माण भएको छ भने नेपालपट्टि पनि दुई लेनको पक्की सडक निर्माण भईसकेको छ । त्यसकारण, यस क्षेत्रबाट ठूला सवारीका साधनहरु सजिलै आवतजावत गर्नसक्छन् ।

बेलौरी भन्सार नाका बन्नुको फाईदाको बारेमा यज्ञ कँडेल भन्छन्, ‘सीमानामा एसएसबी आउनु अघिसम्म बरेली, दिल्लीदेखिका मान्छे यहाँ सपिङका लागि आउने गर्दथे । अहिले बेलौरी भन्सार नाका बन्छ भने त्यो समय फेरि फर्केर आउने छ । यहाँबाट हामीले स्थानीय उत्पादनका साथै चीनियाँ उत्पादनहरु पनि सजिलै निर्यात गर्ने बाटो खुल्नेछ ।’

जनयुद्ध कालमै भारतले आप्mनोतर्फ सीमामा सीमा सुरक्षा बलको एउटा टुकडी राखेपछि भारतबाट बेलौरी छिर्ने चार पाङग्रे सवारी आवतजावत बन्द भयो । जसको प्रभाव बेलौरीको होटल तथा लत्ताकपडा व्यवसायमा प¥यो । पारीपट्टि भन्सार नभएकै कारण आज पनि पारीका मानिसहरु चारपाङग्रे सवारी लिएर बेलौरी आउन सकिरहेका छैनन् । चार पाङग्रे सवारीले धनगढी वा महेन्द्रनगर गएर पूर्जी काट्नुपर्ने अवस्था छ । कँडेल भन्छन्, ‘भारतले भन्सार नराखी दिँदा बढी समस्या भएको छ ।’  

बेलौरी नै सुदूर पश्चिमका लागि सबैभन्दा उपयुक्त भन्सार नाका हो भन्ने विषय यसपाली पुनः स्थानीय स्तरमा चर्चाको विषय बनेको छ । किनभने, वर्तमान सरकारले भन्सार स्तरोन्नतिका लागि नाम सिफारिसको आह्वान गर्दा बेलौरी नाकाको नाम आएन । बरु, कैलालीमा रहेको खक्रौला नाका सिफारिसमा प¥यो । बेलौरीलाई भन्सार बनाउने प्रक्रिया दुबै देशबाट अघि बढिसकेको अवस्थामा यस्तो किन भयो भन्ने सवालमा विष्ट भन्छन्, ‘अहिलेकी सांसद विना मगरले चासो दिनुभएन । उहाँले यति महत्वपूर्ण विषयमा अलिकति गम्भीर भईदिनुपथ्र्याे । यो त आक्कलझुक्कल प्रस्ताव हुने विषय हो । यस वर्ष योजनामा परेन, अर्काे वर्ष पार्छु भन्ने खालको विषय नै हैन ।’

बेलौरी भन्सार नाका नबन्दाको घाटा थुप्रै भएपनि बेलौरीको विकासका लागि अन्य आधारहरु पनि थुप्रै रहेको नयाँ शक्ति पार्टीको केन्द्रीय परिषद् सदस्य अमर विष्टले बताए, ‘बेलौरीमा कृषि तथा पर्यटनको प्रबल सम्भावना छ । जडिबुटी उत्पादन तथा प्रशोधन, पशुपालनका साथै यहाँ रहेका शोभा ताल, जमनिया ताल, प्याराताल आदिको संरक्षण गरेर विकास गर्नुपर्छ । अहिले नगरपालिकामा गतिलो डेरीसम्म छैन । किसानका उत्पादन भण्डारण गर्न कोल्डस्टोर छैन । कृषकलाई कसरी उत्पादन बढाउने तथा कुन कुन खेती गर्दा बढी नाफा कमाउन सकिन्छ भन्नेबारे कुनै तालीमको व्यवस्था छैन ।’

नगरपालिकामा विभिन्न समस्या रहेको तथ्यबारे विवेकशील साझाका सदस्य मेवाराम चौधरी भन्छन्, ‘कम गुणस्तरीय र अव्यवस्थित सडक बनाईएका छन् । ठेकेदारहरुले तदारुकताका साथ वैज्ञानिक हिसाबले काम गर्न सकेका छैनन् । जनप्रतिनिधिले पनि सडक निर्माण कामको अनुगमन तथा निरीक्षणमा चासो दिन सकेका छैनन् ।’ बेलौरीलाई भन्सार नाकाको रुपमा विकास गर्दाका फाईदाबारे उनको धारणा यस्तो छ, ‘अहिले बेलौरी नगरपालिकाले भारतीय सवारीबाट कर उठाउन पाएको छैन । भन्सार यहिँ हुने हो भने नगरपालिकाले आपैmँ कर उठाउन पाउँछ । दुबैतर्फको आवतजावत बाक्लो हुन्छ । बेलौरीको पर्यटनमा पनि बढोत्तरी हुन्छ ।’

बेलौरी क्षेत्रमा पर्यटनको सम्भावनाका लागि पनि भन्सार नाका आवश्यक छ । चार पाङ्ग्रे सवारीको आवागमन जति सहज हुन्छ, यो क्षेत्रको आर्थिक समृद्धिले पनि त्यति नै चाँडो पाईला चाल्नेछ । अब बेलौरीलाई भन्सार नाकाका रुपमा कसरी स्तरोन्नति गर्ने त ? पूर्व सांसद दिवानसिंह विष्ट भन्छन्, ‘भारतले प्रक्रिया अगाडि बढाईसकेको छ । म अब दिल्ली जाँदैछु । त्यहाँको विधेयकसँग भेटेर यस प्रक्रियालाई जतिसक्दो छिटो सम्पन्न गर्न अनुरोध गर्छु । सदनमा पनि दिलेन्द्र बडुले यस विषयमा आवाज उठाई राख्नुभएको छ ।’

बेलौरी नाका भन्सारको रुपमा स्तरोन्नति हुनुपर्छ भन्ने सबैको माग छ । र, सम्भावना पनि प्रचुर छ तर समस्या पनि छ । पूर्वप्रधानाध्यापक बोहरा भन्छन्, ‘भारततर्फ बेलौरी नजिक पर्नेगरी रेल्वे लाईन छैन । मुख्य समस्या भारत यसका लागि तयार भईदिनुप¥यो । हामीले माग्यौँ भन्दैमा सबै ठाउँमा उसले भन्सार नाका उपलब्ध गराईदिँदैन ।’

‘हाम्रो मुख्य समस्या भारततर्फ भन्सार कार्यालय नहुनु नै हो । हामीले उत्तर प्रदेश लोकसभा सांसद अजय मिश्रसँग भेटेर यो कुरो अवगत गरायौँ । उहाँले लोकसभा सदनमा यो कुरा उठाईसक्नु भएको छ ।’ बेलौरी वडा नं.४ का वडाध्यक्ष अर्जुन ढकालले भने, ‘उतापट्टि भन्सार कार्यालय खोल्ने वितिक्कै दुईतर्फी व्यापार तथा यातायातमा आफैँ सहजता आउनेछ ।’

बेलौरी क्षेत्रबाट नै चुनाव लडेर यसपटक केन्द्रिय संसदमा पुगेकी खानेपानी मन्त्री विना मगरले आदिवासी दिवसको उपलक्ष्यमा बेलौरी नै पुगेर भनेकी छिन्, ‘मैले प्रधानमन्त्री, उद्योग तथा वाणिज्यमन्त्रीसँग बेलौरीलाई नाकाका रुपमा स्तरोन्नति गर्ने कुरा राखेकी छु । हामी छिट्टै नै भारतसँग यस विषयमा कुरा राख्ने प्रक्रियामा छौँ । बेलौरी–खजुरिया भन्सार नाकाका रुपमा विकसित हुन्छ ।’   

 

प्रतिकृया दिनुहोस

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

कष्टकर यात्राको रमाइलो अनुभूति

बेलौरी गुमनाम नाका

काभ्रेका सामुदायिक विद्यालय राजनीतिको

ब्लग : ‘घाँडो’ भयो संघीयता

नेपाललाई शंकराचार्य परम्परा आवश्यक

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला