नेपाललाई शंकराचार्य परम्परा आवश्यक छैन

नेपाललाई शंकराचार्य परम्परा आवश्यक छैन

जयप्रकाश गुरागाञी,

नेपाली साध्वी हेमानन्द गिरीले केही महिना अघि भारतको उत्तराखण्डस्थित जोशीमठको शंकराचार्य बन्नका लागि आवेदन दिनुभयो । त्यस लगत्तै गिरी विश्वकै पहिलो महिला शंकराचार्य बन्न लागेको भन्दै चर्चा सुरू भयो । यो विषय अझै सेलाएको छैन् । अहिले गिरी शंकराचार्य बन्नु हुँदैन भन्ने एक खेमा छ, अर्कोले उनको समर्थन गरिराखेको अवस्था छ  । यस आलेखमा उहाँ शंकाराचार्य बन्नु ठिक÷वेठिक भन्दा पनि नेपाली परम्परा शंकराचार्य हो कि होइन भन्ने मुख्य सवाल हो । वास्तवमा हामीलाई शंकराचार्य परम्परा आवश्यक छैन् । नेपालको सन्यासी परम्परा गोरखनाथबाट सिञ्चित रहेको छ । आलेख यसै विषयमाथि केन्द्रित छ ।

भारतमा चार मठका चार शंकराचार्य छ्न् । चार वेदका चार मठ चार दिशामा चार महावाक्यका आधारमा आध्य शंकराचार्यद्वारा स्थापित गरिएका हुन् । नेपालमा कुनै मठ आध्य शंकराचार्यद्वारा स्थापित छैनन् । शंकराचार्य परम्परा आठौं शताब्दी (सन् ७८८) को हो । पशुपतिनाथलाई दोस्रो शताब्दीको मानिन्छ, राजा शिवदेवको पालाको । मानदेवको चाँगुनारायणको अभिलेख नै संवत् ३८६ को हो । पशुपतिनाथ सनातनी मन्दिर हो न कि बुझिए जस्तो शैव । शैव, बौद्ध, तन्त्र, पाशुपत र वैदिक पम्परा प्रत्यक्ष जोडिन्छ पशुपति ।

नेपालमा नागाहरूको अखडा छैन कतै पनि । शिवरात्री बाहेक नागाहरूलाई नेपाल आउन प्रतिवन्ध नै छ । उनीहरु नेपाल आएको र नेपालबाट गएको अभिलेख राख्ने गरिन्छ । अनि, नागा महामण्डलेश्वर कसरी शंकराचार्य हुने, त्यो पनि पशुपतिनाथको ? नेपालको मन्दिर, शक्तिपिठहरू, गुरुकुल र गुम्वाहरू राज्यको प्रत्यक्ष सहयोगमा सञ्चालित हुन्थे इतिहास हेर्दा, अर्थात् मठाधिशको परंपरा नै नेपाली होइन ।  

अखिल भारतीय विद्वत परिषद्, वल्र्ड हिन्दु फेडरेसन आदि संस्थाहरू नेपालमा शंकराचार्य घोषणा गर्ने अधिकार बोकेका संस्था होईनन् । शंकराचार्य कसैले घोषणा गरेर प्राप्त हुने पद होईन । शंकराचार्य छनौटको उत्तराधिकारी परम्परा छ । वर्तमान शंकराचार्यका योग्य उत्तराधिकारी नै अर्को शंकराचार्य हुने हो । हेमानन्द गिरी कुन शंकराचार्यकि उत्तराधिकारी हुन् ?

 काशी विद्वत परिषद् पनि शंकराचार्य घोषणा गर्ने निकाय होइन । इलाहवाद उच्चअदालतले विवाद भएको खण्डमा मात्र अन्य शंकराचार्यको सहमतिमा राय दिनसक्ने भनेको छ । फेरि इलाहवाद अदालतको आदेश नेपालको लागि होइन । उसको निर्णय र उसको आदेश भारत देशको सरहदभित्र मात्रै मान्य हुन्छ; लागु हुन्छ । 

शंकराचार्यको योग्यता आध्य शंकराचार्यद्वारा प्रवर्द्धित मठाम्नायले गर्छ । दण्डिस्वामी हुनुपर्ने, वेदवेदाङ्ग र शांकर दर्शनमा पारङ्गत हुनुपर्ने, अखण्ड ब्रह्मचारीर ब्रह्मचारिणी हुनुपर्ने, योग्य उत्तराधिकारी हुनुपर्ने भन्ने छ । के हेमानन्द गिरी यी सबै विषयमा योग्य हुनुहुन्छ ? के उहाँ नियमको यस दायराभित्र अटाउनुभएको छ ? 

महिला हुन् त्यसैले हुन्न, विवाहिता हुन्, छोडपत्र गरेकी हुन्, राजनीति गर्थिन् त्यसैले हुन्न भन्ने तर्क भने उपयुक्त देखिँदैन । विवाह या महिलाको विषय गृहस्थाश्रमको हो, सन्यासाश्रमको होइन । महामण्डलेश्वर हुन योग्य व्यक्ति शंकराचार्य पदको लागि अयोग्य छ भन्न मिल्दैन । अतः हेमानन्द गिरीको दावेदारी स्थापित चार मठकै लागि हुनुपर्ने देखिन्छ । नेपाली भएको कारण नेपालमा मठ स्थापना गर्छ भन्नु चाहिँ अशास्त्रीय र नेपाली मौलिक धर्म संस्कृति विरुध्द छ ।

हेमानन्द गिरीले आफुले दण्ड धारण गरेको र जलमा प्रवाह गरेको बताउनु भएको छ । त्यसो हो भने उहाँलाई दण्डी स्वामीलाई दिईने हंश, परमहंश या सरस्वती आदि पद किन दिईएन ? किन उहाँ गिरी नै रहनुभयो ? उहाँले एउटा टेलिभिजन अन्तर्वार्तामा आप्mनो व्रतवन्धादि संस्कार भएको कुरा बताउनुभएको थियो । तर, नेपालमा महिलाको व्रतवन्ध गर्ने प्रचलन नै छैन । १६ वर्षको उमेरपछि व्रात्य भईने र व्रात्यको व्रतबन्ध हुन नसक्ने शास्त्रीय मान्यता छ । त्यसैगरी, उहाँले एउटा अर्काे अन्तर्वार्तामा आफु नेपालमा काम गर्न आएको; मठ स्थापना गरेर बस्न नआएको बताउनु भएको थियो । त्यसो भए जोशीमठकै शंकराचार्य बनेर नै नेपालमा काम गर्न आउनुभएको भए यत्रो विवाद हुने थिएन र नेपाली महिला आधिकारिक शंकराचार्य भएकोमा नेपाली पनि गौरवान्वित हुने थिए ।

हेमानन्दले बुभ्न नसकेको तथ्य ?

तपाईं शंकराचार्य भएपछि हजारौँ नागाहरू नेपालमा रहनेगरी आउन सक्छन् । जैन परम्पराका श्वेताम्बर (सेतो वस्त्र मात्रै पहिरने) स्वामीहरू नेपाल आउँछन् तर त्यही परम्पराका दिगम्बर (वस्त्र नै नपहिरी नाङ्गै रहने) स्वामीहरु नेपाल आउँदैनन् । जैनहरूबाट समेत पालित नेपाली मुल्यमान्यता तपाईंबाट तोडियो भने यसले कस्तो सन्देश प्रवाह गर्ला ?

शंकराचार्यको कार्य भनेकै अवैदिक मतहरूको खण्डन र शुद्ध वैदिक मतको स्थापना हो । पशुपती मठको शंकराचार्य हुनुभयो भने पशुपतिनाथलाई बौद्ध परंपराबाट हटाउनु तपाइको दायित्व हुन आउँछ किनभने शंकराचार्यले बौध्द मतलाई अवैदिक ठह¥याउनु भएको थियो । उहाँले सबैभन्दा बढी बौद्धहरूलाई वैदिक बनाउनुभएको थियो । तपाईं मिलेर बसेका सनातनी बौद्धलाई पशुपतिमा निषेध गर्नुहुन्छ या चुप लागेर शंकराचार्यको गरिमालाई लत्याउनु हुन्छ ? शंकाराचार्य अन्तिम निर्णयकर्ता पनि हो शास्त्रार्थमा । शास्त्रार्थको अवस्थामा अहिले भैरहेको संस्कार, भाषा, व्याकरण, लिपि, संवत्, तेस्रोलिङ्गी  विवाह, कुमारी आमा शिरडीबाबालाई भगवान मान्ने / नमान्ने आदि विवादमा तपाईं के राय दिनुहुन्छ ? या मौन रहनुहुन्छ ?

अन्त्यमा,

विक्रमपूर्व पाँचौ शताब्दी हो बुद्धको समय । बुद्ध अघिको समय हो महाबीरको । जैन साहित्यले भन्यो, तीर्थङ्कर चौबीस छन् । महावीर चौबीसौँ तीर्थङ्कर हुन्, अन्तिम अर्थात् अब थप तीर्थङ्करको सम्भावना छैन । बुद्ध कालमा तीर्थङ्कर पदले ठूलो अर्थ र गरिमा राख्थ्यो, अर्हतले महत्व राख्थ्यो । न बुद्धले आफुलाई पच्चिसौँ तीर्थङ्कर बनाए । न अर्हत् नै घोषणा गराउन जवर्जस्ती गरे । बुद्ध बनेरै उनी महान भए।

क्राइष्टको परिकल्पनामा या बाइबलमा चर्च थिएन । त्यसैले बाइबलको नभएर चर्चको उत्पादन हो पोप, इसाइ सर्वोच्च धर्माधिकारी । त्यसैले पोपको हेडक्वार्टर जेरुसेलम नभएर भ्याटिकन भयो । युरोपमा चर्च र राज्यसत्ताको संघर्षले सोह्रौँ शताब्दीमा नयाँ पन्थ जन्मियो प्रोटेस्टेन्ट । बेलायतले इङ्लिकन चर्च बनायो तर हामी आफ्नै पोप बनाउँ भनेन। पोप एक भएकाले देशै पिच्छे पोप थपिएन ।

आद्य शंकराचार्यको समय सातौँ शताब्दी (डा.राधाकृष्णन्) आठौं शताब्दी (म्याक्स मुलर) मानिन्छ । उनले बुद्धको भिक्षुसंघकै शैलीमा नागा र सन्यासीहरूलाई संगठित गरी मठ स्थापना गरे । आलोचकले प्रच्छन्न बुद्ध भने पनि बुद्ध पछिको खाली पद मैत्रेय बुद्द बनेनन् । एघारौँ शताब्दीका हुन (सं १०१७०) रामानुजाचार्य । उनको समयमा मठ परम्पराको ठूलो महत्व थियो । अद्वैत मतको खण्डन गरी जगतगुरु भए पनि मठको परिकल्पना गरेनन् । सर्वोच्च प्रतिष्ठापुर्ण पद छ भने लिनुपर्छ भन्ने उनमा देखिएन ।

अब विषयमा फर्कौँ । आज पर्यन्त चार शंकराचार्य मठमा चार वेदलाई प्रतिनिधित्व गर्ने चार उत्तराधिकारी हुन्छन् जसलाई शंकराचार्य नै भनिन्छ । आजको नक्सामा ती चारै मठ भारतमा पर्छन् । मठाम्नायले पाँचौ मठको परिकल्पना गरेको छैन, न त पाँचौ आचार्य । समयको आवश्यकता हो भने विषयलाई यति हल्का र महत्वहिन नबनाउँ । सन्त समाजको सम्मती र राय लिउँ । नेपालको आवस्यकता हो भने अन्य प्रतिष्ठापूर्ण पदको बारेमा सोच्न सकिन्छ । द्वारे, डिठ्ठा र मुखिया खलकको त आजसम्म समाजमा कत्रो इज्जत छ । श्री १०८,श्री १००८, मठाधिश हुँदै महामण्डलेश्वर बन्नुपर्छ भने पक्कै प्रतिष्ठित पद हो भन्ने मान्नुपर्छ । अर्थात् नेपालमा काम गर्ने मनसाय भए वर्तमान पदको गरिमाले रोक्ने देखिन्न ।

कसैलाई कवि बनाउन सकिन्छ, महाकवी बनाउन सकिन्छ, कवि शिरोमणि पनि बनाउन सकिन्छ, विश्वकवि पनि बनाउन सकिएला तर कुलपति बन्न त प्रज्ञा प्रतिष्ठान चाइयो नि अर्थात खोइ पीठ पशुपतिमा ? शंकराचार्य हुने शंकराचार्यको पीठ नहुने पनि हुन्छ ? शंकराचार्य विभुषण होइन भन्ने बुझ्नुपर्दैन ?

न तीर्थङ्कर, न बुद्ध, न पोप, न शंकराचार्य या रामानुजाचार्य । नयाँ बनेर जानुपर्छ भन्ने हो , आगे आफ्नै मर्जी ।

प्रतिकृया दिनुहोस

शक्ति पूजाको महिमा र रूप

बेलायतबाट सिक्न कति छ कति

राहत शिक्षकको आन्दोलन किन ?

हिन्दुत्व विरोधी संविधान

प्रकाशकीयः अमरवाणी डट कमको प्रतिवद्धता

कष्टकर यात्राको रमाइलो अनुभूति

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला